शक्तिशाली कम्युनिष्ट पार्टी निमार्णका लागी एकता


मोहनविक्रम सिंह
ने.क.पा. (मसाल)को छैठौँ भेला हालै सम्पन्न भएको छ । त्यो भेलाको छलफल खालि दुईवटा एजेण्डाहरूमा मात्र सीमित रहेको थियो । प्रथम, हालै सम्पन्न चुनावको समीक्षा । द्वितीय, पार्टी अनुशासनको मूल्याङ्कन । ती दुवै विषयहरूमा भेलामा विस्तृत रूपले छलफल भयो । भेलाले हामीलाई दुईवटा जिम्मेवारीहरू दिएको छ ः प्रथम, शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण गर्ने । द्वितीय, आठौँ महाधिवेशन सफल पार्ने । आगामी करिब एक वर्षका बीचमा हामीहरू ती जिम्मेवारीहरू पूरा गर्न एकताबद्ध भएर लाग्नु पर्दछ ।
अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु अत्यन्त कठिन कार्य हो । विश्व समाजवादी व्यवस्थाको पतन र पहिलेका धेरै कम्युनिष्ट पार्टीहरूको पतन वा उनीहरूले दक्षिणपन्थी संशोधनवादी दिशा लिएको अवस्थामा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण सजिलो छैन । त्यसका लागि सर्वप्रथम, दक्षिणपन्थी संशोधनवादी सोचाइहरूका विरुद्ध कडा सैद्धान्तिक सङ्घर्ष गर्नुपर्नेछ । त्यसका साथै “वामपन्थी” सङ्र्कीणतावादी सोचाइका विरुद्ध पनि कडा सङ्घर्ष गर्नुपर्नेछ । ती दुवै प्रकारका प्रवृत्तिहरूले कम्युनिष्ट आन्दोलनमा बारम्बार गम्भीर समस्याहरू पैदा गर्दै आएका छन् । हाम्रो देशमा पनि दुवै प्रवृत्तिहरूका विरुद्ध सङ्घर्षको लामो इतिहास छ र त्यस प्रकारको सङ्घर्षका बीचबाट गएर नै हाम्रो पार्टीको विकास हुँदै आएको छ । त्यसकारण ती दुवै प्रकारका प्रवृत्तिहरूका विरुद्ध सङ्घर्ष एउटा निरन्तर चल्ने प्रक्रिया हो । त्यसकारण अहिले पनि हामीले पार्टीमा देखापर्ने ती दुवै प्रकारका प्रवृत्तिहरूका विरुद्ध उच्च प्रकारको शतर्कता अपनाउनुपर्ने आवश्यकता छ र शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणका लागि त्यो एउटा निर्णयात्मक महत्वको कुरा हो ।
आज विश्व र नेपालको कम्युनिष्ट आन्दोलनमा पनि उपभोक्तावादी सोचाइ धेरै नै बढेर गएको छ र त्यो धेरै नै व्यापक भएको छ । त्यसले गर्दा कम्युनिष्ट आन्दोलनमा देश, जनता र मेहनतकश जनताभन्दा व्यक्तिगत लाभ र स्वार्थका पक्षमा नै काम गर्ने प्रवृत्तिहरू बढेर गएका छन् । त्यसको परिणामस्वरूप कैयौँ कम्युनिष्ट पार्टीहरू वा ठूलो सङ्ख्यामा कम्युनिष्टहरू क्रान्तिकारी सिद्धान्त र उद्देश्यहरूबाट विचलित हुँदै गइरहेका छन् । जुन कम्युनिष्ट पार्टी वा कम्युनिष्टहरू अहिलेसम्म त्यस प्रकारको विचलनबाट बचेका छन्, उनीहरूमा पनि त्यस प्रकारको प्रवृत्तिहरू बढ्दै जाने खतरालाई अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा क्रान्तिकारी सिद्धान्त र दृष्टिकोणका आधारमा कम्युनिष्ट पार्टीको निर्माण अत्यन्त कष्टदायक कार्य बनेको छ । त्यस प्रकारको उपभोक्तावादी सोचाइहरूको समस्या यो मात्र होइन कि ठूलो सङ्ख्यामा कम्युनिष्ट पार्टी वा कम्युनिष्टहरूले क्रान्तिकारी सिद्धान्तबाट पलायन गर्दछन् । त्यसका साथै त्यससित जोडिएको अर्को र झन् महत्वपूर्ण समस्या यो हो कि स्वयं उनीहरूको क्रान्तिकारी चिन्तनमा विचलन भएपछि उनीहरूले आफ्नो स्वार्थ अनुकूल हुने गरी पार्टीको सम्पूर्ण संरचना वा नीति र कार्यपद्धतिहरूलाई पनि परिवर्तन गर्ने गर्दछन् । संसारका र नेपालका पनि कम्युनिष्ट पार्टीहरूको त्यसरी विचलन भएका थुप्रै उदाहरणहरू छन् ।
हाम्रो पार्टीको इतिहासमा पार्टीभित्र कैयौँपल्ट राजावादी, काङ्ग्रेसपरस्त, दक्षिणपन्थी, संशोधनवादी वा उग्र“वामपन्थी” भटकावहरू देखापर्ने गरेका छन् । कैयौँपल्ट उनीहरूका त्यस प्रकारका प्रयत्नहरूको परिणाम स्वरूप हाम्रो पार्टीको सङ्गठन, भूमिका वा जनआधारमा गम्भीर प्रकारको क्षति पनि पुग्ने गरेको छ । त्यस प्रकारका भडकावहरूका विरुद्ध सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक रूपले सङ्घर्ष गरेर नै हामीहरू आफ्नो पार्टीको अस्तित्व बचाउन सफल भएका छौँ । तर गत कालमा हामीले जुन प्रकारको स्थिति वा समस्याहरूको सामना गर्‍यौँ, ती सबै इतिहासका कुराहरू भइसके र अब हामीहरू त्यस प्रकारका सबै खतराहरूबाट मुक्त भइसक्यौँ भन्ने होइन । भविष्यमा नयाँ नयाँ रूपमा त्यस प्रकारका समस्याहरू पैदा हुन सक्दछन् । त्यस प्रकारको समस्याहरूको कुशलतापूर्वक र दृढतापूर्वक सामना गरेर नै हामीले आफ्नो पार्टीको अस्तित्वलाई बचाउन, क्रान्तिकारी दिशामा अगाडि बढ्न र शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण गर्न सक्ने छौँ ।
कम्युनिष्ट पार्टीभित्र देखापर्ने कमजोरी वा समस्याहरूका कारणले कम्युनिष्ट पार्टीको विकासमा बाधा पुग्नुका साथै देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरू र सरकारहरूले पनि कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न, समाप्त गर्न वा क्रान्तिकारी दिशाबाट हटाउन योजनावद्ध प्रकारले प्रयत्न गर्दै आएका छन् र गर्नेछन् । कैयौँ देशहरूमा उनीहरूले बलको प्रयोग गरेर कम्युनिष्ट पार्टीहरूलाई समाप्त गर्ने प्रयत्न गर्दछन् । जस्तै कि इन्डोनेशिया । तर धेरै जस्तो अवस्थामा उनीहरूले नदेखिने प्रकारले वा छद्म प्रकारले पनि कम्युनिष्ट पार्टीहरूलाई समाप्त पार्ने वा क्रान्तिकारी सिद्धान्तबाट विचलित गर्ने प्रयत्न गर्दछन् । कतिपय अवस्थामा उनीहरूले कम्युनिष्ट पार्टीमा घुसपैठ गर्ने पनि गर्दछन् – पार्टी भित्रका असन्तोष, अन्तर्विरोध वा कमजोरीहरूलाई उपयोग गरेर पनि उनीहरूले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने, त्यसमा फुट पार्ने प्रयत्न गर्दछन् । सी.आई.ए.ले संसारभरको कम्युनिष्ट आन्दोलन समाप्त गर्न त्यसरी प्रयत्न गरिरहेको छ । नेपालको सन्दर्भमा ‘र’ले पनि त्यसका लागि लगातार प्रयत्न गरिरहेको हुन्छ । वास्तवमा ‘र’ ले नेपालमा सबै राजनीतिक पार्टी, प्रशासन, सेना आदि सबैतिर आफ्नो घुसपैठ गर्ने कार्य गरेको छ । कम्युनिष्ट आन्दोलनभित्र पनि त्यसले त्यस प्रकारको प्रयत्न गर्ने कुरा प्रष्ट छ । तर त्यसले नेपालको कुन कम्युनिष्टभित्र कति घुसपैठ गरेको छ ? हामीलाई थाहा छैन । जे होस्, त्यस प्रकारका सबै सम्भावनाहरूप्रति पनि हामीले उच्च प्रकारको सतर्कता अपनाउनु पर्ने आवश्यकता छ ।
पार्टीमा आन्तरिक रूपमा देखापर्ने कमजोरीहरू वा देशी र विदेशी शक्तिहरूका षडयन्त्रकारी भूमिकाबाट शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणमा बाधा पुग्ने गर्दछ । कैयौँ व्यवहारिक समस्याहरूका कारणले पनि शक्तिशाली पार्टीको निर्माणमा बाधा पुग्ने कुराप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । सङ्गठनको विस्तार वा सुदृढीकरणको कार्यमा कार्यकर्ताहरूको कमीले पनि ठूलो बाधा पुर्‍याउँछ । केही दशकयताको स्थितिमाथि विचार गर्ने हो भने पनि प्रष्ट हुन्छ, उपभोक्तावादी सोचाइहरूका कारणले पार्टीको काममा टिक्न नसकेर थुप्रै कार्यकर्ताहरूले पलायनको बाटो समातेका छन् । हाम्रा कार्यकर्ताहरूको एउटा ठूलो सङ्ख्याले आफ्नो आर्थिक समस्या वा रोजगारीको खोजिमा विदेशमा पलायन गरेका छन् । अरू पनि विभिन्न कारणले हाम्रा कार्यकर्ताहरूको सङ्ख्यामा कमी आउने गरेको छ । नयाँ पिढीबाट आउने कार्यकर्ताहरूको पनि बढी ध्यान आफ्नो क्यारिएर बनाउने वा विभिन्न पेशाहरूमा लाग्नेतिर नै हुन्छ । त्यस प्रकारका व्यक्तिगत अवसरहरू सत्तामा भएका वा सत्तामा पुग्ने सम्भावना भएका राजनीतिक शक्तिहरूका पक्षमा गएपछि नै प्राप्त हुन्छन् । हाम्रो पार्टीमा अधिकतर अवस्थामा मानिसहरू सिद्धान्त, नीतिबाट प्रेरित भएर नै आउने गर्दछन् र हाम्रो पार्टीमा सामेल भएर व्यक्तिगत लाभहरू प्राप्त हुने सम्भावना अत्यन्त कम हुन्छ । त्यसैले हाम्रो पार्टीमा सामान्यतः, सिद्धान्त र नीतिप्रतिको आस्थाले बाहेक, कमै मानिसहरू सामेल हुन्छन् । यी कारणहरूले पनि हाम्रो पार्टीको सङ्गठनको विस्तारमा धेरै बाधा पुग्ने गर्दछ ।
आर्थिक समस्याले पनि हाम्रो सङ्गठनको देशव्यापी विस्तारमा धेरै बाधा पुग्दछ । पार्टीलाई बाह्य रूपमा सहयोग प्राप्त हुने सम्भावना अत्यन्त कम हुन्छ । पार्टीभित्रका आर्थिक स्रोतहरू अत्यन्त सीमित हुन्छन् र ती झन्‌पछि झन् कम हुँदै गइरहेका छन् । लेभी, कोटा, प्रतिशत आदि पनि लगातार कम हुँदै गइरहेका छन् । त्यसरी पार्टीमा आम्दानीको स्रोत घट्दै गएको छ भने खर्च पहिलेभन्दा कैयौँ गुणा बढेर गएको छ । त्यसले गर्दा पार्टीमा आर्थिक सङ्कटको स्थिति उत्पन्न भएको छ । यो स्पष्ट छ कि कार्यकर्ता र आर्थिक समस्याको असर सङ्गठनको विस्तारमा पर्दछ ।
पार्टी निर्माणको कार्यमा अर्को गम्भीर समस्या अनुशासनको हो । पार्टी अनुशासन नभैकन एकता कायम हुन सक्दैन । त्यसरी पार्टी अनुशासन र एकता कायम हुन सकेन भने पार्टीले राजनीतिक वा सङ्गठनात्मक जिम्मेवारी प्रभावशाली प्रकारले पूरा गर्न सक्दैन । एकातिर पार्टीको कमजोर सङ्गठन, कार्यकर्ताको कमी, आर्थिक समस्या, प्रतिक्रियावादीहरूका चौतर्फी हमला, कैयौँ खुफिया सञ्जालको षडयन्त्रकारी भूमिका त्यसमाथि पार्टी भित्रको अनुशासन र एकता नै खलबलियो भने त्यसको परिणाम अत्यन्त घातक हुने कुरा स्पष्ट छ ।
पार्टीको अनुशासनको समस्यालाई जनवादी केन्द्रीयताका आधारमा नै हल गर्न सकिन्छ र गर्नु पनि पर्दछ । माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक पद्धतिको आधारभूत सिद्धान्त हो ः जनवादी केन्द्रीयता । पार्टीमा कैयौँ मतभेदहरू हुन सक्दछन् । पार्टी सदस्यहरूलाई मतभेदहरू राख्ने स्वतन्त्रता हुन्छ र त्यस प्रकारको स्वतन्त्रताको सधैँ रक्षा गर्नुपर्दछ । त्यो नै जनवादको सार तत्व पनि हो । त्यस प्रकारको स्वतन्त्रताको रक्षा गरेर नै पार्टीमा अनुशासन र एकता कायम रहन सक्दछ । लेनिनले मतभेद र एकताका बीचमा कसरी सामन्जस्यता कायम गर्ने ? त्यसका लागि छलफलको स्वतन्त्रता र काममा एकताको सिद्धान्तको प्रतिपादन गरेका छन् ।
पार्टीमा छलफलको स्वतन्त्रता हुनुपर्दछ । तर कामका दौरानमा एकता हुनुपर्दछ । यी दुवैका बीचमा द्वन्द्वात्मक सम्बन्ध छ । कुनै विषयमा निर्णय गर्नुभन्दा पहिले छलफलको पूरा स्वतन्त्रता हुन्छ । तर एकपल्ट निर्णय भएपछि एकताबद्ध भएर काममा जुट्नु पर्दछ । त्यसो भएन भने, कामको दौरानमा पनि मतभिन्नता र विरोध गर्ने प्रक्रिया चलिरह्यो भने पार्टीले कुनै पनि विषयमा सफलतापूर्वक काम गर्न सक्दैन । त्यसैले एकातिर छलफलको स्वतन्त्रता र अर्कातिर, काममा एकता– ती दुवैका बीचमा सन्तुलन कायम गरेर नै पार्टीमा अनुशासन र एकतालाई कायम राख्न सकिन्छ, जसले पार्टी जीवनमा अत्यन्त ठूलो महत्व राख्दछ । त्यस प्रकारको अनुशासन र एकता भएन भने हामीले कुनै पनि महत्वपूर्ण कार्य पूरा गर्न सक्दैनौँ ।
माथिको संक्षिप्त विवरणबाट स्पष्ट हुन्छ, एउटा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण गर्ने हाम्रो उद्देश्यका अगाडि कैयौँ गम्भीर प्रकारका समस्याहरू छन् । यो कुरालाई अझै स्पष्ट शब्दमा भन्नु पर्दा हामीले त्यस प्रकारको कम्युनिष्ट पार्टीको निर्माणको कार्य अत्यन्त प्रतिकूल परिस्थितिमा गर्नु परिरहेको छ । तै पनि हामीले त्यस प्रकारको प्रतिकूल परिस्थिति वा समस्याको सामना गर्दै क्रान्तिकारी सिद्धान्त र माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक पद्धति अनुसार पार्टीको नीति, सङ्गठन वा कार्यप्रणालीलाई कायम राख्ने प्रयत्न गरिरहेका छौँ । तर त्यसरी प्रयत्न गर्ने सिलसिलामा हामीले अनुभव गरिरहेका छौँ, त्यो कार्य सजिलो छैन । अहिलेको मात्र होइन, दशकौँदेखि हामीले त्यस प्रकारको कठिन र प्रतिकूल समस्याहरूको समाधान गर्दै आएका छौँ । पार्टीको सम्पूर्ण इतिहास त्यस प्रकारका कठिन समस्या, प्रतिरोध वा तिनीहरूका विरुद्ध सङ्घर्षहरूले भरिएको छ । तर त्यसको साथै हामीले यो पनि स्वीकार नगरिकन रहन सक्दैनौँ कि कतिपयपल्ट हाम्रो प्रयत्न वा सङ्घर्षहरू असफल पनि हुने गरेका छन् । यो कुरा बेग्लै हो कि त्यस प्रकारका कैयौँ बाधा वा असफलताहरूका कारणले हामीले आफ्ना प्रयत्नहरूबाट पछाडि हट्ने गरेका छैनौँ र लगातार तथा दृढतापूर्वक अगाडि बढ्दै आएका छौँ । भविष्यमा पनि त्यसरी अगाडि बढ्ने छौँ र बढ्न सक्नेछौँ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।
हामी अब आठौँ महाधिवेशनको तयारीमा लागेका छौँ र यो महाधिवेशन नहुँदासम्म हाम्रो मुख्य ध्यान महाधिवेशनमा नै केन्द्रित हुनुपर्दछ । तर हामी महाधिवेशनको तयारीमा लागे पनि देशमा उत्पन्न हुने राजनीतिक समस्या वा आन्दोलनबाट अलग हुन सक्दैनौँ । महाधिवेशनको तयारीका बीचमा पनि संसदभित्र वा बाहिर सबै जिम्मेवारी वा सङ्घर्षका कार्यक्रमहरूलाई आवश्यकतानुसार अगाडि बढाउने हाम्रो नीति र प्रयत्न हुनेछ । तैपनि मुख्य ध्यान महाधिवेशनलाई सफल पार्नेतिर नै हुनुपर्दछ । महाधिवेशनको तयारी पनि एक्लै अगाडि बढ्ने कुरा होइन । महाधिवेशनको सिलसिलामा पनि राजनीति नीति, कार्यक्रम आदि निर्धारित गर्ने, पार्टीभित्र तिनीहरूलाई स्पष्ट पार्ने वा उच्च रूपमा विकसित गर्ने तथा सङ्गठनात्मक अवस्थालाई व्यवस्थित गर्दै जानु पर्दछ । त्यसरी शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण र महाधिवेशनको तयारी एक अर्कासँग अभिन्न रूपले जोडिएका कार्यहरू हुन् र ती दुवैलाई साथसाथै अगाडि बढाउने हाम्रो प्रयत्न हुनुपर्दछ ।


Related posts

Leave a Comment