नारायणगढ–बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने काम माघको पहिलो हप्ताबाट


प्रनिश थापा, चितवन

नारायणगढ–बुटवल सडक खण्ड चार लेनमा विस्तार गर्ने काम माघको पहिलो हप्ताबाटै सुरु हुने भएको छ । काम सुरु गर्नका लागि पुसको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको शिलान्यास गर्ने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार यही खण्डबाट पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाउने काम सुरु हुनेछ । बुटवल–नरायणगढ सडकखण्ड दुई वटा प्याकेजमा विस्तार गरिँदैछ । दुबै प्याकेजको जिम्मा चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयले कम्पनीसँग गत पुस ४ गते नै आयोजनाका लागि सम्झौता गरिसकेको सडक विभाग अन्तर्गतका आयोजना निर्देशनालय (एडीबी)का उपआयोजना निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

यो आयोजनामा प्राविधिक रुपमा सफल भएका ७ वटा कम्पनीहरु अन्तिम प्रतिस्पर्धामा थिए । जसमा सबैभन्दा कम रकम बोलकबोल गर्ने कम्पनीले नै निर्माणको जिम्मा पाएको छ । चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्याकेज–२ अन्तर्गतको ठेक्का ७ अर्ब ८६ करोड रुपैयाँमा हात पारेको छ । यस्तै, प्याकेज–१ मा ९ अर्ब १३ करोड रुपैयाँमा उसैले ठेक्का पाएको छ । पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्यांकनमा असफल भएका थिए । विभागका अनुसार यो सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । साथै विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि भइकसकेको छ ।


Related posts

Leave a Comment