संघिय संरचना सहितको ऐतिहासिक निर्वाचन र अबको बाटो


लामोे संक्रमणकालको अन्त्यको अपेक्षासहित अहिले ऐतिहासिक संघीयता सहितको निर्वाचन सम्पन्न भइसकेको छ । विश्लेषकहरु यो चुनावले लामो संक्रमणकलिन अवस्था लगभग अन्त्य गर्ने बताईरहेका छन । अशान्ति र अस्थिरताको शिकार बन्न बाध्य नेपाली अब शान्ति र समृद्धिको अपेक्षामा छन् । अस्थिर सरकारको अल्पकालिन सोचले मुलुक आर्थिक रुपमा अत्यन्तै कमजोर धरातलमा पुगेको छ । दलहरुले विभिन्न एजेन्डा र आश्वासन देखाएर चुनावमा होमिएका छन् । आश्वासन अनुरुप नै दलहरु विकास र समृद्धिको कार्य गर्न सोचेजस्तो त छैन तर असम्भव पनि छैन । दलहरुले अब प्रस्तुत गर्ने इच्छाशक्तिले अबको बाटो तय गर्नेछ । त्यसो त दलहरुको एजेण्डामा सबैजसोले कम्तीमा ५ बर्षे स्थाई सरकारको नारा अघि सारेका छन । बहुमत प्राप्त दलबीच बिगतको नजिर दोहोरियो भने पनि संविधानको प्राबधान अनुसार अबको सरकार २ वर्ष टिक्छ नै । कामना गरौं समिकरणमा यो बीचमा कुनै उल्झन देखा नपरे ५ वर्षे कार्यकालमा मुलुकले एउटा गति भने पक्कै लिनेछ ।

विगतमा राजनीतिक स्थिरता नभएर लगानीयोग्य वातावरण भएन भन्ने निजी क्षेत्रको गुनासो केही हदसम्म अब हट्नेछ । यद्यपि यसमा राजनीतिक स्थिरता मात्रै कारण भने होइन । दलहरुका नारा जस्तै कार्यन्वयनमा इमान्दारिता जरुरी थियो । भुक्तभोगीहरु भन्छन् राजनीतिक स्थिरता एउटा शर्त हो तर यो नै सम्पूर्ण सत्य होइन । नेपालमा राजनीतिक स्थिरता पहिले पनि थियो । तर, राजनीतिक स्थिरतासंगै उपयुक्त आर्थिक नीति तथा कानुन नभएकोले नेपालको अर्थतन्त्र धिमे गतिमा अगाडि बढ्यो । नेपालको इतिहासलाई पल्टाएर हेर्दा विगतमा स्थिर सरकार नबनेका होइनन् तर त्यसबेलाको राजनीतिक प्रणाली नै दोषयुक्त थियो भनेर दलहरु उम्कने गरेका छन । तर लामो सशस्त्र विद्रोह भयो । सविधान सभाको निर्वाचन सम्पन्न भयो । संविधान निर्माणसँग कार्यान्वयनको चरणसमेत पुरा भईसकेको छ । यावत् गतिविधिले अब नेपाल समृद्धिको दिशामा अघि बढेको अनुमान लगाउन कठिन छैन । जनताका नाममा राजनीति गरेका भनिएका नेताहरुले अब कसका लागि राजनीति गरेका हुन् भन्ने अझ स्पष्ट हुनेछ ।

अब जनतालाई झुक्याउन पनि त्यत्ति सहज हुने छैन किनकी जनताको निरन्तर सचेतता र सजगताको स्तर बृद्धि भइरहेको छ । एकपटक बेइमान गरेका नेतालाई जनताले तह लगाउनेछन् सायद त्यहि कारणले पनि नेता इमान्दार बन्नुपर्ने बाध्यता रहेको छ । नेपालको भूराजनीतिक अवस्थितिले पनि नेपालमा विकासका केही चुनौति रहेका छन् । तर राजनीतिक इच्छा शक्ति भएमा त्यस्ता चुनौति पनि परास्त भएर जानेछन् । अब नेपालको आर्थिक बृद्धिलाई उकालो लगाउनुपर्ने छ । सबैभन्दा पहिले यहाँका वास्तविक समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने हुन्छ । देशमा भएका साधनस्रोतको दीर्घकालिन सोच र उपयुक्त नीतिका साथ उपयोग गर्नुपर्छ र देशको श्रमशक्तिको स्वदेशमै उपयोग नगरेसम्म नेपाल दीर्घकालिन रुपमा आर्थिक समृद्धिको बाटोमा अगाडी बढ्ने छैन । विगतमा भएका गलत नीतिको समीक्षा गर्दै सही आर्थिक नीतिका साथ अगाडी बढ्नुपर्छ जब नीति र नेतृत्व सही हुदैन तब राजनीति असफल हुन्छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको परिणाम अबको केही दिनमै प्रकाशित हुनेछ । त्यसले अब बन्ने सरकारको स्वरुप दर्शाउने छ । निर्वाचनमा गइसकेपछि एक पक्षले जित्नु र अर्को पक्षले चुनाव हार्नु अनिवार्य नै हो । त्यसकारण यसलाई सामान्य रुपमै लिनुपर्छ । नेपालमा आजसम्म धेरै निर्वाचन सम्पन्न भएका छन्, धेरै व्यक्तिले जितेका छन् ।

जनताको अपेक्षा र आफ्नो प्रतिबद्धता अनुसार काम गर्न जनप्रतिनिधि असफल भइरहे । तसर्थ चुनाव जित्नुमात्रै पर्याप्त होइन त्यसको औचित्य त्यतिबेला पुष्टि हुन्छ जतिबेला जनताका आकांक्षा र इच्छाहरु परिपूर्ती हुन्छन् । एकपटकको जित सधैभरीको जित होइन र एकपटकको हार पनि सधैभरीको हार होइन । देशमा अझै कैयौँ चुनाव हुन बाँकी नै छन् । जनताको मनलाई जित्न सकेमा फेरी पनि निर्वाचित हुने सम्भावना जारी रहन्छ । निर्वाचन जित्नुमात्रै अवश्य केही पनि होइन हार्दैमा पनि केही बिग्रने केही होइन । जसले जितेपनि नेपालीले नै जितेका हुन् देशको लागि राम्रो काम गरेमा जसले जिते पनि त्यसको उपयोगिता सबैले प्राप्त गर्ने हो । अबको राजनीति स्वच्छ हुनु जरुरी छ । प्रतिपक्षले पनि सरकारका राम्रा नीति तथा योजनामा साथ, समर्थन र सहयोग गर्न सक्नुपर्छ । त्यस्तै सत्तापक्षले पनि प्रतिपक्षका मननीय कुराहरुलाई समावेश गरेर जान सक्नुपर्छ । अहिले संविधानको कार्यन्वयनको महत्वपूर्ण खुड्किलो पार भएको छ । सबैले देश र जनताका नाममा राजनीति गरेको हुनाले देशलाई हित हुने काममा रचनात्मक सहयोग गरी देशको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्न सकून् सबैलाई शुभकामना ।


Related posts

Leave a Comment