ओलीको अग्निपरीक्षा सुरु हुदैँ, यति ठूलो भारी उठाउन सक्लान् त ?


 नेपालमा अहिले संक्रमणकाल जारी नै छ । संक्रमणकाल भनेको एउटा शासन व्यवस्था भत्किएको र अर्को शासनव्यवस्थाको जग राम्रोसँग नबसेको अवस्था हो । संक्रमणकाल जुनसुकै मुलुकका लागि पनि निकै संवेदनशील समय हो । नेपालले धेरै समय राजनीतिक आन्दोलन र उपलब्धिको लागि खर्चेको छ । संघीयताको कार्यन्वयन बल्ल सुरुवाती विन्दुमा पुगेको छ । यस समयमा राजनीतिक दलहरुमा बेमेल र तिक्तताको अवस्था आयो भने यो उपलब्धि गुम्ने खतरा पनि बाँकी नै छ । नेपालको इतिहासलाई फर्केर हेर्दा जब जहानीँय राणा शासनको अन्त्य भयो त्यसको केही समयभित्रै प्रजातन्त्रको उज्यालो उदाउन नपाउदै अर्को निरंकुश पंचायतको शासन व्यवस्था सुरु भयो । त्यस समयमा मानव अधिकार र व्यक्तिगत स्वतन्त्रताहरु कुण्ठित बने । राजनीतिक दलमाथि निरंकुशता लादियो । लामो संर्घष र बलिदानीपूवर्क पु्नः नेपालमा बहुदलीय व्यवस्थाको प्रादुर्भाव भयो । त्यस समयमा पनि प्रचलित दलहरुले संवेदनशील, जिम्मेबारी र इमान्दारिताका साथ काम नगर्दा फेरी अर्को कु लाद्ने प्रयास भयो । त्यो पनि राजनीतिक दलहरुबीच ऐक्यबद्धताका साथ संयुक्त संघर्ष गर्दा त्यसको पराजय भयो । संविधान निर्माणको लागि गठन भएको संविधानसभा ८ वर्षको हुँदा सकसले संविधान जन्मेको जन्मेको हो । त्यसबेला पनि राजनीतिक दलहरुको आपसी मेलमिलाप र साझा अठोटका काम गर्दा सफल भयो

। संविधानको अझै सम्पूर्ण पक्षको कार्यन्वयन हुनै बाँकी छ । संविधानको को सफतलाका साथ पूर्ण रुपमा कार्यन्वयन हुने कुरामा अलिकति भएपनि संशय बाँकी नै छ । मुलुकले लामो समय राजनीतिक भाडभैलो र अधिकार प्राप्ति मै निकै पट्यारलाग्दो समय बिताइसकेको छ । आजसम्म राजनीतिक अधिकारको नाममा लडाई र संघर्ष गर्न आनाकानी नगरेका जनता अब भने राजनीतिक अधिकारका लडाई लड्न पटक्कै सहमत छैनन् र त्यस्ता संघर्ष सुन्न पनि चाहेका छैनन् । यद्यपि सामान्य संघर्ष भनेको जहिले पनि चलिरहन्छ । संविधानको कार्यन्वयनसँगै मुलुक फेरी अर्को महाभाष्यमा प्रवेश गरेको छ । जुन प्रणाली नेपाल र नेपालीका लागि पहिलो परीक्षण हो । विश्वमा संघीयता सफल भएका २८ ओटा देशहरु मात्र छन् । केही देशहरुमा संघीयताको प्रयोग गर्दा झन अशान्ति र भाडभैलो भएका पनि इतिहास छन् । साथै कुनै देशको राष्ट्रिय अस्मिता र अखण्डतामाथि प्रहार भयो र केही विघटन सम्मको स्थितिमा पनि पुगे । यसो भन्नुुको अर्थ नेपालमा पनि संघीयता त्यस्तै जटिल र घातक बन्दैछ भन्न खोजेको होइन बरु यसमा अलि बढी सजगता, कुशलता र दक्षताको आवश्यक छ । त्यसबाट सहज रुपमा पार लाग्ने कुरामा केही चुनौति अवश्य छन् । दलहरुले अत्यन्तै जिम्मेवारी बोध गरी यसको सफलतापूर्वक प्रयोग गर्नु अहिलेको प्रमुख आवश्यकता र चुनौति पनि हो । राजनीतिक दलहरु भनेको मुलुकको हितमा काम गर्ने उद्देश्यका साथ खोलिएको हो । देशलाई हानीकारक र घातक काम गर्न यदी राजनीतिक धन्दा चलाएको होइन भने फरक विचार भएपनि राष्ट्रिय सवालमा एकजुट हुनु जरुरी छ । फरक राजनीतिक दल भइसकेपछि एकअर्कामा आरोपप्रत्यारोप गर्नु पनि स्वभाविक पनि हो ।

तर राजनीति कर्मीले पार्टी र आफ्नो स्वार्थलाई मात्र प्राथमिकता राखेर काम गरे भने त्यसको कुनै मूल्य रहदैन । सकिन्छ बरु देश निर्माणमा सहयोग गरौँ सकिदैन राम्रो काम गर्न खोज्नेको खुट्टा नतानौ । व्यक्तिगत स्वार्थको लागि देश र जनताको भविष्यसँग नखेलौँ । मतविभाजन चुनावी माहोल र चुनावी वातावरणको बेलामा भएपनि अन्य समयमा आरोपप्रत्यारोप दोषारोपण कम गरौँ । जबसम्म देशको नेतृत्व सुध्रिदैन तबसम्म देशको उन्नति प्रगति र विकासको परिकल्पना सम्म गर्न सकिन्न । नेपालमा व्यक्ति सफल धेरै नै भएका छन् । तर देश सधै असफल बनिरहेको छ । अब पनि देशको नाममा खाली सत्ताको भागबण्डा, बार्गेनिङ् र मोलमोलाई तोक्दै हिड्यौ भने हाम्रो पुस्ताले सराप्नेछ । देश र जनताका आँसुले पोल्नेछन् । । देश सफल हु्नु भनेकोे सबै सफल हुनु हो । आजको यस प्रतिष्पर्धात्मक दुनीँयामा हरेक मुलुक तीव्र गतिमा समृद्धिको बाटोमा अगाडी बढेका छन् भने हामी आन्तरिक कलह र झैझगडा उब्जाएर निरन्तर लडिरहेका छौ । अब यो संस्कार सबैले बदल्नु जरुरी छ । चुनावी नतिजाले वामगठबन्धनलाई नेतृत्वको अधिकार सुम्पेको छ । त्यसलाई आफ्नो दम्भ र घमण्डको रुपमा सम्झिएर काम गरेमा भने अर्कोपटक जनताले निसन्देह आफ्नो निर्णय उल्टाउनेछन् । पराजित भएका र संसदमा कम भारी भएका दलहरुका पक्षमा पनि जनता छन् भन्ने यथार्थलाई भुल्नु हुँदैन । अल्पमतको कदर पनि लोकतन्त्रको महत्वपूर्ण शर्त हो । तसर्थ यसलाई आफ्नो शक्ति नसम्झेर जिम्मेबार सम्झनु जरुरी छ । त्यहीँ अनुसारको व्यवहार देखाउनु जरुरी छ । यो नयाँ नेपाल निर्माणको महत्वपूर्ण सुरुवाती भएकोले विगतमा जुन राजनीतिक चरित्र र संस्कार बसेको थियो त्यसलाई पूर्णतः सुधार्नु जरुरी छ । नयाँ संस्कार र चेतनाको थालनी गर्नु पनि निकट सरकारको चुनौति हो ।

आजसम्मका राज्य संचालनका हरेक सोचाई र गलत परम्परालाई तोड्नु पनि अहिलेको मुख्य चुनौति र अबसर हो र विना कुनै नोक्सानी अत्यन्त सफलताका साथ संघीय नेपालको नयाँ व्यवस्थाको कार्यन्वयन गराउनु र राजनीतिक वेथितिलाई परास्त गर्नु अर्को जिम्मेवारी हो । त्यो महान् लक्ष्य त्यत्तिकै पूरा हुनेवाला छैन त्यसको लागि प्रतिपक्षलाई सँगसँगै मिलाएर अगाडी बढाउन जरुरी छ । उसको हैसियतको पनि मूल्यांकन गर्न जरुरी छ । साथै प्रतिपक्षले पनि सधै किनारा लाग्ने भन्दा पनि सरकारलाई रचनात्मक र सकरात्मक व्यवहार देखाउनु जरुरी छ । जसले काम गरेपनि देशको हितमा हुन्छ भने त्यो सबैको लागि राम्रो हुन्छ । त्यसको निरिक्षण अत्यन्तै सूक्ष्म ढंगले जनताले गरेका हुन्छन् र गर्नुपर्छ पनि । राजनीतिमा बर्षौदेखि जरो गाडेर बसेको गलत परम्परा र नजिरलाई भत्काएर नयाँ संस्कारको सुरुवाती बनोस् हामी सबैलाई शुभकामना । संभवत अबको नेतृत्वको जिम्मा केपी ओलीको भागमा पर्ने देखिएको छ । अहिलेका चुनौतिलाई सामना गर्दै जनताको आशालाई साकार बनाउन सकूँन उनलाई कामना । मुलुकलाई एकजुट र शान्त बनाएर विश्वको विकासको गतिलाई समात्नुपर्छ । अब राष्ट्रनिर्माणको यस कठिन घडीमा हातेमालो गरेर अगाडी बढौ ।


Related posts

Leave a Comment