प्रसादको कलेक्सन एक सातामा २ करोड बढी


गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ दोस्रो सातामा प्रदर्शनरत छ । चलचित्र निर्माण युनिटले चलचित्रले पहिलो साता गरेको कलेक्सनको रिपोर्ट सार्वजनिक गरेको छ । चलचित्रले घरेलु बजारबाट पहिलो साता २ करोड बढीको कारोबार गरेको निर्माण पक्षले दाबी गरेको छ ।दशैं रिलिज फिल्म ‘छक्का पञ्जा ३’ पछि खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई ‘प्रसाद’ ले केही हदसम्म चलायमान बनाएको छ । चलचित्रले २ करोड ग्रस कलेक्स्न गरेको भए पनि लागतका हिसाबले चलचित्रले लगानी सुरक्षित गर्न भने अझै केही दिन चलचित्रले दर्शकको साथ पाउनुपर्नेछ । त्यसो त चलचित्र हेर्ने दर्शक अझै घटेका छैनन् ।प्रायः चलचित्र हलमा दर्शकको राम्रै उपस्थिति रहँदै आएका कारण एकातिर घरेलु बजारबाटै प्रसादले आफ्नो लगानी सुरक्षित गर्दै नाफामा जाने संकेत देखाएको छ भने अर्कोतर्फ चलचित्रलाई विदेशबाट पनि उस्तै माग आएका कारण चलचित्र स्वतः नाफामा जाने निश्चित भएको छ । सानो बजारमा चलचित्रको प्रतिस्पर्धा रहँदा अधिकांश नेपाली चलचित्रले आफ्नो लगानी सुरक्षण गर्ने अवस्था देखिदैन । तर, विदेश प्रदर्शन, च्यारिटी शो लगायतबाट चलचित्रले आफ्नो लगानी सुरक्षण गर्दछन् । त्यतिमात्र नभएर युट्युव राइटबाट पनि केही रकम जोहो गर्ने गरेका छन् ।

प्रसादका हकमा चलचित्रले प्रदर्शनको दुई दिन आक्रामक व्यापार गरेको थियो । त्यसपछिका दिनमा भने चलचित्रले औसत व्यापार गरेको हल व्यवसायी बताउँछन् । फिल्मले प्रदर्शनको दुई दिनमा नै एक करोडको कारोबार गरेको थियो भने अन्य पाँच दिन एक करोड बढीका कारोबार गरी एक सातामा जम्माजम्मी २ करोड बढीको कारोबार गरेको हो ।शुक्रबारबाट दोस्रो सातामा प्रदर्शन थालेको फिल्मले निःसन्तान दाम्पतीको कथाव्यथालाई प्रस्तुत गरेको छ ।


Related posts

Leave a Comment