शहरका एक ‘पुरुष गृहिणी’ को कथा


म ससुरालीमा थिएँ, अवसर थियो सालीको बिहे। म र मेरी श्रीमती सोनालीसँगै परिवारको नयाँ सदस्य थिई- हाम्री छोरी। मेरी श्रीमती वैवाहिक कार्यक्रममा व्यस्त थिइन् र छोरी मसँग थिई। छोरी मसँगै बस्न मन पराउँथी।

हामी गफमा व्यस्त रहेका बेला छोरीले दिसा गरी। छोरीको दिसा सफा गर्न म जानै लाग्दा मेरी सासुआमाले रोक्नुभयो। घरको एउटा कुनामा लगेर मलाई उहाँले भन्नुभयो, “हजुर त घरको ज्वाइँ हुनुहुन्छ। यो के गर्न लाग्नुभएको? अरू पाहुनाले देखे भने के भन्लान्? सोनालीलाई बोलाऊनू। उसले सफा गरेर डाइपर लगाइदिन्छे।”

त्यो काम त म पनि गर्नसक्छु भनेर मैले भन्नुअघि नै सासुआमाले सोनालीलाई बोलाइसक्नुभयो र भन्नुभयो, “आऊ सोनाली तिम्री छोरीको दिसा सफा गरिहालौँ।” दुवैजनाले छोरीलाई शौचालयमा लगे। म आश्चर्यमा परेँ किनकि त्यो काम मेरो लागि नयाँ थिएन। म एक ‘हाउस हसब्याण्ड’ अर्थात् गृहिणी श्रीमान् हुँ भनेर मेरा सासुससुरालाई पनि थाहा थियो। तर शायद अरूका कारण उहाँहरूले लाज मानेको हुनुपर्छ। छोरीको दिसा सफा गर्न जान लागेको देखेर केही मान्छेहरू मुस्कुराइरहेका पनि थिए।

बिहेवारीको होहल्लाबीच मेरो कानमा कैयौँ पटक यो कुरा ठोक्कियो, “ऊ त गृहिणी श्रीमान् हो”।

मेरा सासुससुराले यो कुरा अरूले थाहा नपाऊन् भन्ने चाहनुहुन्थ्यो। मलाई थाहा थियो मान्छेले मजाक उडाउँछन् ताकि तपाईँले लज्जित महसुस गर्नूस्। तर मैले पनि मनमनै एउटा प्रण गरिसकेको थिएँ न त लज्जित महसुस गर्छु न त आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउँछु। हामीले अन्तरजातीय बिहे गरेका थियौँ। हामीले पहिल्यै सल्लाह गरिसकेका थियौँ-जसले राम्रो जागिर पाउँछ उसले जागिरलाई अगाडि बढाउने।

र, शुरूदेखि नै मेरो जागिर सन्तोषजनक थिएन। यसबीचमा सोनाली सफलताको भर्‍याङ्ग उक्लिँदै गइन्। अनि हामीले निधो गर्‍यौँ सोनालीले जागिर खाने र मैले घरबार हेर्ने। घरको काममा सघाउन मेरो अरू कोही छैन। म नै घर सफा गर्छु, भाँडाकुँडा माझ्छु, तरकारी किनेर ल्याउँछु र खाना पकाउँछु। शायद उहाँहरूलाई मैले घरको काम गर्दा अनौठो लाग्थ्यो। तर मेरो लागि त्यो सामान्य थियो।

म तीन दाजुभाइमध्ये कान्छो हुँ। म आमालाई पनि घरको काममा सघाउँथेँ। त्यो बेला मेरा साथीहरूले गृहिणी भनेर मलाई जिस्काउँथे।

दिल्लीका मेरा पढेलेखेका साथीहरूले मेरो रोजाइलाई बुझ्न थालेका छन्। तर म आफ्नो गृहनगर भोपाल जाँदा मेरा साथीहरू अझै मलाई उडाउँछन्। राजनीतिक वा गम्भीर मुद्दामाथिको बहसमा मेरा साथीहरूले बीचमै मलाई रोकेर भन्छन्, “यो ठूलो विषय हो, तिमीलाई थाहा हुन्न।” मलाई केवल घरेलु काममा सीमित पुरुषको रूपमा देखाउने प्रयत्न गरिन्छ। एक पटक त साथीहरूले बहस गरिरहेका बेला मैले केही बोल्न खोजेपछि एकजना साथीले भने, ‘तिमी बरु चिया बनाएर ल्याऊ।’

मैले पनि मुस्कुराउँदै भने, “चिया मात्रै किन पकौडा पनि बनाएर ल्याउँछु नि।” मेरा केही साथीहरू अहिले पनि फोन गरेर मजाक गर्छन्, “के छ साथी, के पकाउँदैछौ त?” मानिसहरू घरको कामलाई काम नै ठान्दैनन्। कतिपय साथीले त मलाई घरमा बसेर मोज गर्छ भनेर पनि भन्छन्।

तर उनीहरूलाई थाहा छैन कि म पनि जागिरमा जाने अरू पुरुष जस्तै बिहानै उठ्छु। र, घरभित्र र बाहिरका सबै काम भ्याउँछु। ‘गृहिणी’लाई कति हेय दृष्टिले हेरिन्छ र घरमा उनीहरूले गर्ने मेहनतको सम्मान गरिँदैन भन्ने कुरा मैले राम्रोसँग अनुभूत गरेको छु। हाम्रो बिहेको चार वर्षपछि छोरीको जन्म भएको हो। त्योसँगै मेरो काँधमा जिम्मेवारी पनि थपियो। छोरीको हेरचार गर्ने, नुहाइदिने, खुवाइदिने र उसलाई डुल्न लाने सबै मेरो जिम्मेवारी थियो।

शुरूमा पार्क लैजाँदा महिलाहरू मेरी छोरीलाई माया गर्न आउँथे। तरपछि उनीहरूले “नानीको आमा किन आउनुहुन्न, उहाँलाई के भयो?”आदि प्रश्न गर्न थाले।

मैले उसकी आमा जागिर गर्छिन् र छोरीको हेरचार म गर्छु भनेपछि मैले अनेकौँ प्रश्नको सामना गर्नुपर्‍यो। “तपाईँ यति सानो बच्चालाई कसरी सम्हाल्नुहुन्छ, तपाईँसँग बस्न मान्छिन्, उसलाई खाना कसले खुवाइदिन्छ? ” मैले जागिर नगर्ने भएर बेकम्मा भनेर मेरो कुरा पनि काटिन्थ्यो। बिहेपछि पहिलो पटक मेरा आमाबुवाले मैले घरको काम गरेको देखेर मन पराउनुभएन।

हुन त मेरी आमाले केही भन्नुहुन्थेन। तर उहाँले सहज रूपमा त्यसलाई नलिएको मैले सजिलै अनुमान लगाउन सक्थेँ। लाग्थ्यो उहाँका आँखाले मलाई सोध्ने गर्छन्, तिमी बाहिर जागिर खान किन जाँदैनौँ, बुहारीले जागिर खाने भए पनि घरको काम चाहिँ किन गर्न सक्दिनन्? आमाको असहजतालाई महसुस गरी मेरी श्रीमतीले पनि घरको काम गर्न थालिन्। तर उनले सकिनन्। पछि मैले नै नगर्न भनेँ। मेरी आमाले पनि यो कुरा बुझ्नुभयो। तर केही बोल्नुभएन र पछि यो विषयमा सधैँका लागि मौन हुनुभयो।

छोरी स्कूल जान थालेकी छन्। गृहकार्यमा उसलाई ‘फ्यामिली ट्री’ बनाउन भनिएको रहेछ। म घरमा थिइनँ। श्रीमतीले छोरीलाई सहयोग गरिन् र ‘फ्यामिली ट्री’मा मेरो नाम घरमूलीको रूपमा राखिएको रहेछ। मैले त्यो देखेपछि विमति जनाएँ। मैले सोनालीले जागिर खाएर घरमा पैसा ल्याउने भएकोले घरमूलीको रूपमा उसको नाम राख्नुपर्ने तर्क गरेँ। तर सोनाली मानिनन्। उनले भनिन्, पुरुष होस् या महिला घरमुली त्यो हुन्छ जसले घरबार चलाउँछ। उनले मेरो नाम हटाइनन्।

म एक ‘फ्रीलान्सर’ लेखक हुँ र लेख्ने काम पनि गर्छु। मेरा दुईवटा किताब प्रकाशित भइसकेका छन् र तेस्रो प्रकाशनको क्रममा छ। मेरी श्रीमतीले पनि कार्यालयमा अनेकौँ प्रश्नको सामना गर्नुपर्छ। तर हामी दुईबीच यति माया छ कि त्यस्ता कुराको हामीलाई असर पर्दैन। मेरा दाइहरूले मैले घरमा काम गर्ने भएर केही भन्नु त हुन्न। तर उहाँहरूले मेरो प्रशंसा पनि गर्नुहुन्न। घरका महिलाहरूले चाहिँ मेरो निकै इज्जत गर्छन्। मलाई थाहा छ तपाईँले केही फरक काम गर्दा मानिसहरूले मजाक उडाउँछन्, आलोचना गर्छन् र अन्त्यमा त्यसलाई स्वीकार्छन्।

-बीबीसी हिन्दीका सम्वाददाता नीलेश धोत्रेले तयार पारेको कथा


Related posts

Leave a Comment