‘साइनो’ बनाउँदै भुवन चन्द


नेपालको पहिलो चलचित्र ‘आमा’की नायिका भुवन चन्द थापाले फिल्म निर्माणको घोषणा गरेकी छन्। चन्दले दुई दशक अघि निर्माण भएको सुपरहिट फिल्म ‘साइनो’ सँग मिल्दोजुल्दो नाम ‘साइनो’ राखेर नयाँ फिल्म निर्माण गर्न लागेकी हुन् ।

रमेश थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा निता ढुंगाना, मिरुना मगर र राजकुमारको मुख्य भूमिका रहनेछ। त्रिकोणात्मक लभ स्टोरी भनिएको यस फिल्मबाट नै राजकुमारले डेब्यु गर्न लागेका हुन्। फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतको पनि अभिनय रहनेछ। फिल्मकी प्रस्तुतकर्तासमेत रहेकी अभिनेत्री भुवनले लामो समयपछि फिल्म निर्माणको साइत जुरेको बताइन् । ‘पहिला मलाई फिल्म निर्माण गर्ने मन नै थिएन । तर यसपटक आत्मादेखि नै फिल्म निर्माण गर्नुपर्छ भन्ने जोश आयो । यसपटक चाहिँ साइत जुरेको रहेछ,’भुवनले भनिन्,‘हामीले फिल्मको नाम ‘नाता’ वा ‘साइनो’ राख्ने भन्नेमा सहमत थियौं । तर कथा अनुसार ‘साइनो’ उपयुक्त ठहरियो ।’

उनले फिल्मको नाम डेनी डेङजोपा अभिनित फिल्मसँग मिल्ने भए पनि यो फिल्म त्यो ‘साइनो’को रिमेक नरहेको बताइन् । फिल्मको छायांकन सोमबारबाट सुरु हुनेछ । भुवन चन्द प्रस्तुतकर्ता रहेको यस फिल्ममा शरण थापा कार्यकारी निर्माताको रूपमा रहेका छन्। अभिमन्यु निरवीले लेख्ने यस फिल्ममा वसन्त सापकोटाको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, रोक्कन विक्रम भट्टराईको द्वन्द्व रहनेछ। रामेश्वर कार्कीले खिच्ने फिल्मलाई वनिश शाहले सम्पादन गर्नेछन्।


Related posts

Leave a Comment