खप्तड गोल्डकप : गोर्खा ब्वाइजलाई हराउँदै संकटा क्वार्टरफाइनलमा


संकटा क्लब तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरको छ । धनगढी रंगशालामा शुक्रबारको भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलअन्तरले पराजित गर्दै संकटा क्वार्टरफाइनलमा पुगेको हो । शुक्रबार दुवै हाफमा १-१ गोल गरेको संकटाले अब क्यामरुनको धाउफिन्स एफसीसँग माघ १ गते अन्तिम चार प्रवेशको निम्ति खेल्नेछ ।

धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा संकटाका लागि सातौं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा सरोज दाहालको फ्लिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । लगत्तै सुभाष गुरुङले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर जाँदा संकटा अग्रता लिनबाट चुक्यो ।

तर पनि पहिलो हाफको इन्जुरी समयमा संकटाले अग्रता लिन सफल भयो । जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै गर्न सफल भए । पहिलो हाफमा एक गोलले अघि रहेको संकटा क्लबले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

६६ औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पासमा गोलरक्षक बिट भएपछि इलोन म्याक्सवेलको प्रहारलाई कुलदीप कार्कीले गोललाइनबाट बचाए । तर खेलको ८३ औं मिनेटमा भने गोर्खा ब्वाइजका खेलाडीले बचाउन सकेनन् । फोफाना इब्राहिमको क्रसमा इलोन म्याक्सवेलले गोल गर्दै संकटालाई दोब्बर अग्रता दिलाएका थिए ।

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टर खेल्नेछन् ।


Related posts

Leave a Comment