संकटाको दोस्रो स्थान पक्का, मनाङको विजयी यात्रा कायमै


अमित तामाङको दुई गोलमा संकटा क्लबले बुधबार थ्री स्टारलाई २–१ ले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थान पक्का गरेको छ । मनाङ मस्र्याङ्दीसँग ३–१ ले पराजित भएपछि उपाधि होडबाट बाहिरिएको संकटाले बिहीबार थ्री स्टारलाई हराउँदै दोस्रो स्थान पक्का गरेको हो । जितसँगै लिगमा एक खेलमात्र बाँकी रहँदा संकटाले थ्री स्टारलाई ४ अंकले पछि पारेको हो । हारपछि थ्री स्टार २३ अंकका साथ तेस्रो स्थानमा यथावत् छ । जुन चौथो स्थानको त्रिभुवन आर्मीको भन्दा एक अंकले मात्र माथि हो । त्यसैले तेस्रो स्थान जोगाइराख्नका लागि थ्री स्टारलाई लिगको अन्तिम खेल पनि जित्नैपर्ने दबाब छ । मनाङले दुई खेलअघि नै लिगको उपाधि जितिसकेको छ ।
संकटाले दुवै गोल पेनाल्टीमा गरेको थियो । रञ्जन विष्टले ३०औं मिनेटमा गरेको गोलबाट थ्री स्टारले अग्रता लिएको थियो । तर त्यसलाई जोगाउन नसक्दा ललितपुरे क्लबले दोस्रो स्थानमा रहेर लिगको अन्त्य गर्ने सम्भावना समाप्त भएको छ । ४२औं मिनेटमा थ्री स्टारका सुनिल बलले अमितलाई लडाएपछि संकटाले पेनाल्टी अवसर पाएको थियो । जसलाई अमितले कुनै गल्ति नगरी गोलमा परिणत गर्दै बराबरी गरेका थिए ।६२औं मिनेटमा थ्री स्टारका पिटर सेगुनले सौजन राईलाई लडाएपछि संकटाले पुनः अर्को पेनाल्टी पायो । त्यसलाई पनि अमितले गोलमा परिणत गरेका थिए । अमितको त्यही गोल संकटाको जितमा निर्णायक बन्यो ।यस्तै दुई खेल अगाडि नै लिग उपाधि पक्का गरिसकेको मनाङले बिहीबारै हिमालयन शेर्पालाई २–१ ले हराउँदै सतप्रतिशत नतिजालाई १२ खेलसम्म कायमै राखेको छ । दुबै टोलीले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए ।हल्चोकस्थित सशस्त्र प्रहरी बलको फुटबल मैदानमा अफिजे ओलावालेले ३६औं मिनेटमा मनाङलाई अग्रता दिएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले बराबरी गोल फर्काएका थिए । ६३औं मिनेटको विशाल राईले गरेको गोल निर्णायक बनेपछि मनाङले विजयी यात्रालाई लिगको १२ खेलसम्म कायमै राखेको छ ।६९औं मिनेटमा मनाङका मोहम्मद आसिफ र हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक आपसमा विवाद गरेपछि रेफ्रीले दुवैलाई रातो कार्डको दर्शन गराएका थिए । हारका बाबजुद १७ अंक जोडेको हिमालयन शेर्पा सातौं स्थानमा यथावत छ ।


Related posts

Leave a Comment