मर्यादाक्रम हेरफेरको तयारीमा सरकारः प्रदेशमा मुख्यमन्त्री, संघीय सरकारका मन्त्रीभन्दा माथि हुने


सरकारले सरकारी मर्यादाक्रम हेरफेर गर्न लागेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकमा नयाँ मर्यादाक्रम प्रस्ताव गरिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले नयाँ मर्यादाक्रम निर्धारण गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो ।
त्यस्तै नगरपालिकाका मेयरलाईसहसचिवभन्दा तल राखिएको थियो । मर्यादाक्रममा असहमति जनाउँदै नगरपालिका संघ र गाउँपालिका महासंघले प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत बुझाएका थिए । उनीहरुले मर्यादाक्रम निर्धारण गर्दा कर्मचारीतन्त्र हाबी भएको आरोप लगाएका छन् । मर्यादाक्रम सच्याउन माग गदेैप्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको उनीहरुले बताएका छन् ।

हालै सम्पन्न अन्तर प्रदेश समन्वय परिषद बैठकमा पनि मुख्यमन्त्रीहरुले मर्यादाक्रम हेरफेरको माग गरेका थिए ।

संशोधनपछि मुख्यमन्त्रीहरुको मर्यादाक्रम संघीय सरकारका मन्त्री सरह हुनेछ । अहिले पनि सोही व्यवस्था रहेकोमा अब सम्बन्धित प्रदेशमा मुख्यमन्त्री र अन्य ठाउँमा संघीय सरकारमा मन्त्री माथि रहनेछन् ।
त्यस्तै प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य सरह प्रस्ताव गरिएको छ । यसअघि नेपाल सरकारका मुख्य सचिवभन्दा तल राखिएका प्रदेश मन्त्रीसँगै प्रदेशसभा सदस्यहरुको मर्यादाक्रम पनि मुख्य सचिव र सचिवहरुभन्दा माथि राखिएको छ ।
त्यस्तै काठमाडौं महानगरपालिकाका मेयरको मर्यादाक्रम पनि मुख्य सचिवभन्दा माथि हुने भएको छ । संघीय राजधानी भएका महानगरका मेयरको मर्यादाक्रम मन्त्री सरह हुने गरेको भन्दै केही मन्त्रीले महानगरका मेयरलाई राज्यमन्त्री सरहको मर्यादाक्रममा राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर, सहमति नजुटेपछि काठमाडौंका मेयरको मर्यादाक्रम सांसदहरुको सरह हुने भएको हो।

काठमाडौं बाहेक अन्य महानगरपालिकाका मेयरको मर्यादाक्रम भने मुख्य सचिवभन्दा तलै हुनेछ । नगरपालिका मेयरको मर्यादाक्रम पनि सहसचिव भन्दा माथि हुनेछ ।

गाउँपालिका अध्यक्षको मर्यादाक्रम उपसचिवभन्दा माथि प्रस्ताव गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको मर्यादाक्रम महानगरपालिकाका मेयर सरह हुनेछ ।


Related posts

Leave a Comment