दसैँ तिहारमा घर जाने एक जना यात्रुलाई पनि टिकट अभाव हुन दिन्नौ : सरोज सिटौला


बडा दशै मनाउन काठमाडौँबाट विभिन्न स्थान जाने यात्रुको चाप बढ्न सुरु भइसकेको छ । यात्रुको चापलाई मध्यनजर गरी दशैकालागि सरकारले राजधानीका विभिन्न स्थानबाट अग्रिम टिकट बुकिङको व्यवस्था गरेको छ । सिन्डिकेट अन्त्यको नाममा वर्षौदेखी यातायात सेवा प्रदान गदै आएका यातायात समिति सरकारले भङ्ग गर्ने निर्णय गरेपछि सिर्जित अन्योलताकाबीच निक्कै ढिला बुकिङ खुलेको हो । एकातिर व्यवसायी समिति माथि सरकारको धरपकड अर्कोतर्फ दशैको मुखैमा भएको भाडाबृद्धिले बुकिङ खुले पनि यात्रा सहज हुने सङ्केत छैन । विद्यमान अवस्थामा यातायात व्यवसायी र कम्पनीहरूले सञ्चालनमा ल्याएका गाडीका सबैजसो टिकट बुक भई सकेका छन् । तर यसअघि विभिन्न चरणमा अतिरिक्त बस सञ्चालनमा ल्याएर यात्रुलाई गन्तव्यमा पु¥याउने गरेका यातायात व्यवसायीहरू यस पटक बस थप्ने वा नथप्ने अन्योलमा छन् । यी र यिनै विषयमा केन्द्रित भएर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलासँग टिभी अन्नपूर्णकर्मी विनोद देवकोटाले गोंगबुँको नयाँ बसपार्कमा गरेको कुराकानी

अग्रिम टिकट वितरणको अवस्था के छ ?

पक्कै पनि नेपालीहरूको महान् चाड विजया दशमी र तिहारमा काठमाडौँमा हुने तथा विदेशबाट आउने नेपालीहरू काठमाडौँ हुँदै बाहिरिनेहरूको चाप हुन्छ । जुन वर्षौदेखीको निरन्तर प्रक्रिया हो । यद्यपि यो वर्ष विगतभन्दा केही चुनौती अवश्य छन् । तर यस्ता तमाम चुनौतिकाबीच पनि हामी यात्रुहरूलाई सहज रूपमा गन्तव्यमा पु¥याउन तल्लीन छौ ।
सबैलाई अवगत छ यो वर्ष यातायात क्षेत्रमा केही अन्यौलता रह्यो । जसका कारण यातायात व्यवसायीहरू यो पटक कम उत्साहित हुन स्वाभाविक पनि हो । तैपनि हामीसँग उपलब्ध साधनको भरपुर प्रयोगमार्फत हामी दसैँमा यात्रुलाई पर्ने अप्ठ्यारो हटाउन लागी गरेका छौँ ।

नयाँ गाडी नथपिने हो भने यात्रुको चापलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ? अहिले देखी नै टिकट नपाएको गुनासो सुनिदैंछ ?

हो, केही गुनासो आयो । गुनासो आएपछि म आफै पनि बुझ्न आएको छु । खासमा तपाईँले भने जस्तो टिकट नपाएको भन्ने छैन । हुनसक्छ केही मान्छेले नियोजित तरिकाले पनि त्यस्तो गरेको हुन सक्छन् । त्यसको विषयमा हामी गम्भीरता पूर्वक लागेका छौँ । रह्यो यस पटक नयाँ गाडी नथपिने कुरा यसमा तपाईँलाई थाहै छ हाम्रा बैङ्क खाता अझै रोक्का छन् । यस्तो अवस्थामा गाडी थप्न सक्ने अवस्था नरहने भएकाले गाडी थप्न नसकेका हौँ ।

हाम्रा पाठक दर्शकलाई बुझ्ने गरी भनिदिनुहोस् यो दसैँमा टिकट नपाएर रोकिने अवस्था आउँछ की आउदैंन ?

यो वर्ष एउटा राम्रो सङ्केत देखिएको छ । विगत वर्षहरूमा दशैको मुखैमा बाहिरिनेहरूको चाप निक्कै हुन्थ्यो तर यस पटक अवस्था फरक देखिएको छ । आजका दिनसम्म दशैका लागी जानेहरू विभिन्न नाकाबाट ५ देखि ७ लाख निस्किसकेका छन् । अर्को तपाईँ बसपार्कका काउण्टरहरुमा देख्न सक्नुहुन्छ आजका दिनसम्म टिकट लिनेहरूको भिड पनि तुलनात्मक रूपमा अघिल्ला वर्षभन्दा कम छ । खैर अहिले अनलाइन टिकटिङ एवं धेरै स्थानमा काउन्टर भएकाले पनि हुनसक्छ । तपाईँलाई थाहा होला हाम्रो असोज ५ गते नै अग्रिम बुकिङका लागी टिकट खोल्ने तयारी थियो । तर सरकारले पेट्रोलियम पदार्थको मूल्य श्रृंखलावद्ध रूपमा बढायो । त्यसपछि हामी बाध्य भएर निर्धारित समयमा टिकट खोल्न सकेनौँ । केही कम्पनीहरू यहिबीचमा टिकट बेचे पनि हामीले ४ दिनपछि मात्रै अग्रिम बुकिङ सुरु गरेका छौँ । अहिलेसम्मको अवस्थालाई हेर्दा हो एक जना यात्रु पनि टिकट नपाएर रोकिनुपर्ने अवस्था मैले देख्दिन ।

पूर्वका केही रुटमा अझै पनि अग्रिम टिकट नखुलेकाले यात्रुहरू अन्योलमा परेको भन्ने गुनासो छ नि ?

त्यसो होइन । सबै ठाउँमा खुलेको छ । पूर्वका केही ठाउँमा साना गाडी माइक्रोको टिकट नखुलेकाले यात्रु अन्योलमा परेको जानकारीमा आएको छ । यो विषयमा मैले सम्बन्धित निकायलाई किन टिकट खुलेन भनेर सोधिसेको छु । उहाँहरूले आजैबाट टिकट खोल्ने बताउनुभएको छ । यसबाहेक सुदूरपश्चिममा जारी आन्दोलनका कारण पनि केही रुटमा टिकट खोल्न समस्या भएको अवस्था हो । किनभने आन्दोलन चर्कदैं गर्दा यसको निशानामा सबैभन्दा बढी सवारी साधन पर्ने भएकाले व्यवसायीहरू यस्तो प्रतिकुल अवस्थाको जोखिम उठाउन सकिरहेको अवस्था छैन ।

चाडपर्वको बेला भइरहेको आन्दोलन सायद लामो समय नरहला तर तपाइहरू किन टिकट बेच्ने हिम्मत गर्नुहुन्न ?

हुनु पर्छ । यो चार्ड वाडको बेलामा काठमाडौँमा बस्ने मात्रै होइन । विभिन्न देशबाट पनि मान्छेहरू आउँछन् । उनीहरू सबैले घर जान पाउनु पर्छ । तर अहिले नै त हामी यस्तो हुन्छ भन्न त सक्दैनौँ नि । आन्दोलन हो के हुन्छ । म आग्रह पनि गर्छु । सबै सङ्घ, सङ्गठनहरू र समूहलाई यो राष्ट्रिय पर्वमा सबैले घर जान पाउनु पर्छ । आन्दोलन रोकेर सहज आवागमनको अवस्था सिर्जना गर्न सबै गम्भीर बन्नुपर्छ र बन्नेछन् भन्ने अपेक्षा छ । आन्दोलन मत्थर हुने सङ्केत देखिएपछि व्यवसायीले टिकट बेच्न थाल्नेछन् ।

चाडपर्वको मुखैमा भाडाबृद्धि गरेर तपाइहरूले यात्रुहरूलाई मर्का पार्नुभयो भन्ने आरोप छ नि ?

यो सर्वथा गलत आरोप हो । यसपटककोे भाडाबृद्धिलाई मिडियाले पनि यसरी नेगेटिभ रूपमा लिनु भएन । भाडा हामीले बढाएका होइनौँ । सरकारले श्रृखलाबद्ध रूपमा निरन्तर गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको भार हामीले थेग्नै नसक्ने अवस्था बाध्य भएर गरेको यो भाडाबृद्धिलाई अनर्थ लगाउनु भएन । २०६९ साल देखि भाडा दर समायोजन गरिएको छैन । यातायात व्यवसायीका समस्यामा राज्य उदासीन जस्तै छ । बिमाको अस्पष्ट नीति, दुर्घटना पछि घाइतेको उपचार के गर्ने ? यी र यस्ता तमाम समस्याका बिच पनि हामीले सबै पक्षसँग बसेर असोज ५ गते नै अग्रिम टिकट खोल्ने तयारी गरेका थियौँ । तर जुन रूपमा हामीसँग एउटा सहमति गर्ने र पेट्रोलियम पदार्थको पटक पटक मूल्य वृद्धि गरेर व्यसायीको ढाड सेक्ने परिवेश सिर्जना भयो यस्ता विषयमा पनि मिडियाले आवाज उठाईदिनुप¥यो । सरकारले १०/११ पटक पेट्रोलियम पदार्थको मूल्य बढायो । सवारी साधन पानीले चल्ने होइनन् । हामीले यसको मार व्यसायीले थेग्नै नसक्ने र यसको प्रत्यक्ष असर आम यात्रुमा पर्ने अवस्थामा यसलाई तत्काल बित डर गर्न भन्यौँ । यसका लागी हामीले सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएका थियौ । आय ल निगमलाई घाटा लाग्छ भने कुनै फण्डबाट तत्काल व्यवस्था गरौँ भन्ने माग राखेका थियौँ । तर सरकारले हाम्रो कुरालाई नजरअन्दाज गरेर गएपछि न हामी भाडा वृद्धि गर्न बाध्य भएका हौँ । वास्तवमै भन्ने हो भने हवाई भाडाजस्तै हाम्रो पनि पेट्रोलियम पदार्थको भाडाबृद्धिसँगै स्वचालित रूपमा बढ्नुपर्ने हो । वैज्ञानिक भाडा दर कायम हुन पर्ने हो । तर सरकारले यसको पहल किन गदै न यो मेरो जिज्ञासा हो ।

सिटौलासँगको थप कुराकानी सुन्न तथा हेर्न तलको भिडियो क्लिक गर्नुहोला

 


Related posts

Leave a Comment