सिक्लेसमा पक्की बाटो बन्ने आशा


वासुदेव पौडेल/पोखरा ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेसलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सरकारले सूचीकृत गरेसँगै यहाँको पहिलो आवश्यकताका रुपमा लिइएको पक्की बाटो बन्ने आशा जगाएको छ ।

लमजुङ हिमालको काखमा अवस्थित सुन्दर गाउँ सिक्लेस पर्यटकलाई लोभ्याउने गाउँ भए पनि पक्की बाटोको अभावमा अपेक्षित पर्यटक पु¥याउन सकिएको छैन । वरपरका हरियो वन जङ्गलका कारण वन्यजन्तु एवं चराचरका कारण प्रकृतिप्रेमीलाई लोभ्याउने गरेको यो गाउँमा हाल लगभग ४०० घरधुरी छन् ।

कच्ची बाटोका कारण पोखराबाट लगभग चार घण्टाको यात्रामा पुग्न सकिने यस स्थलमा पुग्ने जो कोही पर्यटक यहाँस्थित ढुङ्गाले छाएको एवं छापिएको गुजुमुच्च बस्ती देखेर दङ्ग पर्दछन् ।

गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै रहेको सिग्लेसको सफा र सुन्दर नमूना बस्तीले पर्यटकलाई लोभ्याउने गरेको मादी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङले बताए ।

गाउँपालिकाले पोखराको विजयपुर खोलादेखि सिक्लेससम्मको ३५ किमि बाटोको विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरी बाटो निर्माणको पहल शुरु गरेको उनले बताए । उनका अनुसार बाटो निर्माणका लागि रु दुई अर्ब ४१ करोड लाग्ने अनुमान गरिएको छ ।

पोखराबाट उत्तरी भू–भागमा अवस्थित यहाँ सार्वजनिक सवारी साधनका माध्यमबाट विजयपुर खोला हुँदै ढाडबेँसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली र पार्चे हुँदै पुग्न सकिन्छ । विजयपुर खोलामा ठूलो पुल राख्नुपर्ने देखिन्छ भने चिप्ली, तप्राङलगायतका स्थानमा पनि पुल आवश्यक छ ।

“पोखराबाट सिक्लेसम्मको बाटो यहाँको पहिलो आवश्यकता हो,” अध्यक्ष गुरुङले भने, “नेपाल सरकारले नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा यस ठाउँलाई सूचीकृत गरेसँगै बाटोघाटो लगायतका पूर्वाधारले गति लिने आशा गरेका छौँ ।” सिक्लेस गुरुङ जातिको कला तथा संस्कृतिको अध्येताका लागि विशिष्ट गन्तव्य भएको स्थानीय समाजसेवी एवं सिक्लेस युवा क्लबका पूर्व सचिव देवीजङ्ग गुरुङले बताए ।

सिक्लेसबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने जानकारी दिँदै उनले पछिल्लो समयमा विभिन्न अनुसन्धानदाता गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि समेत स्वदेशी एवं विदेशी अनुसन्धानका लागि आउने गरेको बताए ।

पर्यटकलाई लक्षित गरी राखिएको सिक्लेस ‘इको म्युजियम’मा प्राचीन संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त झल्काउने सामग्री राखिएको छ । आसपासमा पाइने दुर्लभ कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचआंँैले र यार्सागुम्बाजस्ता जडीबुटी राखिनुले हेर्न आउने जडीबुटीको अध्येता पनि लाभान्वित हुने गरेका छन् ।

नेपालकै ठूलो गुरुङ बस्तीका रुपमा रहेको यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको घलेखर्क सिक्लेस ‘इको ट्रेक’भित्र पर्दछ । सिक्लेससम्म पक्की बाटो निर्माण भएमा यहाँबाट एक दिनमा पुगिने कफुचे हिमतालसम्म पर्यटकलाई पु¥याउन सहज हुने विश्वास लिइएको छ ।

सरकारले नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सिक्लेसलाई सूचीकृत गरिनुले यस क्षेत्रको विकासमा राज्यले थप चासो दिने अपेक्षा गरिएको मादी गाउँपालिका–१ सिक्लेसका वडा अध्यक्ष सुरजकुमार गुरुङले बताए । “यहाँ आउने पर्यटकलाई यतिखेर पहिलो समस्या भनेको बाटो नै हो,” उनले भने, “सरकारले नयाँ गन्तव्यमा सूचीकृत गरेसँगै यहाँ बाटो निर्माणले गति लिने अपेक्षा गरेका छौं ।”

विस्तृत योजना प्रतिवेदन अनुरुप निर्माणको तयारी गरिएको विजयपुर खोलाहुँदै ढाडबेँसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली र पार्चे हुँदै सिक्लेस जोड्ने बाटोलाई समयमा नै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै छाचोक, चासु, ताङतिङ हुँदै सिक्लेस जाने बाटो सम्पन्न गर्न ताङतिङ र सिक्लेस जोड्ने गरी पुल राख्नु अपरिहार्य भएको उनको भनाइ छ । गाउँपालिकाले विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक सार्वजनिक भएको यस गाउँमा शान्तिस्तम्भ लगायतका पूर्वाधार बनाउने तयारी गरेको छ ।

तत्कालीन सशस्त्र आन्दोलनरत माओवादी पार्टीका अध्यक्ष प्रचण्डलाई तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले २०६२ जेठमा यही मादी गाउँपालिका–१ सिक्लेसबाट हेलिकप्टरमा राखेर काठमाडौँ पु¥याएका थिए ।

त्यसयता विकसित शान्ति प्रक्रियाले गति लिँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने यो गाउँ समुद्री सतहबाट दुई हजार मिटर उचाइमा छ । सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षण र यहाँ पर्यटकको बसाइँलाई लम्ब्याउने लक्ष्यका साथ गाउँमाथि सिक्लेस पार्कको निर्माण कार्य पनि शुरु गरिएको छ ।

पार्कबाट लमजुङ हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४ का साथै वरिपरिको पहाडी भू–भागको एक साथ दृश्यावलोकन गर्न सकिन्छ ।

सिक्लेसमा पुग्ने पर्यटकका लागि खान–बस्न सहयोग पु¥याउने लक्ष्यका साथ १५ वटा घरमा घरवास (होमस्टे) सञ्चालन गरिएको छ, भने १२ वटा होटेल छन् । यहाँ दैनिक ४०० जनासम्म पर्यटक राख्नसक्ने क्षमता छ । प्रकृतिको बरदानयुक्त स्थान सिक्लेसलाई नयाँ विकास गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरिनुलाई यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरिएको छ ।


Related posts

Leave a Comment