श्रीमानले न्याय नपाएको भन्दै श्रीमतीले गरिन् आत्महत्या


धनगढी,

कैलालीमा एक महिलाले आत्महत्या गरेकी छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने भागरति विकले आफ्नो श्रीमानले न्याय नपाएको भन्दै आत्महत्या गरेको स्थानीयले बताएका छन् । उनका श्रीमानको करिब एक वर्ष अघि भासु भिरमा सडक बनाउने क्रममा रोलरले च्यापेर मृत्यु भएको थियो ।

उनले चुरे गाउँपालिका वडा नम्बर ५ स्थित श्रीमानको मृत्यु भएको स्थान भासु भिरमा गएर आत्महत्या गरेकी छन् । श्रीमानको न्यायका लागि विभिन्न निकायमा धाए पनि न्याय नपाएपछि सोही ठाउँमा गएर आत्महत्या गरेको स्थानीयको भनाइ छ । विकको शव आइतबार झुण्डिएको अवस्थामा भेटिएको हो तर उनले कहिले आत्महत्या गरिन् भन्नेबारे पत्ता लागेको छैन । भिरमा झुण्डिएको अवस्थामा रहेको शवलाई इलाका प्रहरी कार्यालय फल्टुडेले निकाल्न नसकेपछि सशस्त्र प्रहरीलाई खबर गरिएको थियो ।

शव निकाल्न बाहिनी मुख्यालय कैलाली नम्बर ७ बाहिनी अत्तरीयाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कुँवरको नेतृत्वमा खटिएको टोलीले भिरबाट शव निकालेर आइतबार नै प्रहरीको जिम्मा लगाएको छ ।


Related posts

Leave a Comment