डाक्टरबाट पनि ठगिएको सुदुरपश्चिम


सुदूरपश्चिम स्वास्थ्य सेवा दिने डाक्टरबाट पनि ठगिएको छ । महाकाली अञ्चल अस्पतालको कथा ।

हाडजोर्नी विशेषज्ञ डा. नरेन्द्रविक्रम गुरुङ ८ साउन २०६९ मा सरुवा भएर महाकाली अञ्चल अस्पताल आए । केवल दुई दिन ९ र १० साउनमा हाजिर गरेपछि काज सरुवा मिलाएर उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुगे । दरबन्दी महाकालीमै रह्यो, तर डा. गुरुङ पोखरामा बसेर काम गरे । दुई वर्ष पुगेपछि उनको क्षेत्रीय अस्पताल पोखरामै सरुवा भयो । महाकाली अञ्चल अस्पतालमा विशेषज्ञ चिकित्सक नभएपछि बिरामी नपाएर सामान्य वार्ड पनि खालि छ ।

३ कात्तिक २०६९ मा सरुवा भएर महाकाली अञ्चल अस्पताल आएका शल्यचिकित्सक डा. सोजन सापकोटाको १० महीना नपुग्दै २०७० साउनमा सेती अञ्चल अस्पताल, धनगढी सरुवा भयो । त्यसैगरी, १४ कात्तिक २०६९ मा आएका फिजिसियन डा. शेरबहादुर कुँवर ६ महीना पुग्दानपुग्दै १३ वैशाख २०७० मा सेती अञ्चल अस्पताल सरुवा गए । २१ मंसीर २०७१ मा सरुवा भएर आएका मेडिकल अधिकृत डा. हेमन्त ओझ दुई दिन हाजिर भएपछि काज सरुवाको चिठी बोकेर स्वास्थ्य सेवा विभाग फर्किए ।

सुदूरपश्चिमको पनि सीमान्त जिल्ला कञ्चनपुरमा रहेको यो अस्पतालमा २०७२ सालमा तीन जना विशेषज्ञ चिकित्सक सरुवा भएर आए । १३ फागुन २०७२ मा आएकी स्त्रीरोग विशेषज्ञ डा. सलिना खड्काको २०७३ साउनमा प्रसूति गृह, काठमाडौंमा सरुवा भयो । सोही दिन आएका हाडजोर्नी विशेषज्ञ डा. अर्जुनप्रसाद डुम्रे प्रहरी सेवामा भर्ना भए भने बाल रोग विशेषज्ञ डा. सुसन भट्टराई २०७३ साउनमा कान्ति बाल अस्पताल फिर्ता भए । २६ चैत २०७२ मा मेडिकल अधिकृतका रूपमा सरुवा भएर आएका शल्यचिकित्सक डा. घनश्याम थापा २०७३ साउनदेखि काजमा बसे । २०७३ मंसीरमा उनको राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंमा सरुवा भयो । २०७४ वैशाखमा करार नियुक्तिमा आएका रेडियोलिष्ट डा. रितेश थापा एक महीना मात्र बसेर धनगढी गए ।

खोज्दै जाँदा सरुवा, काज र फिर्ताको यस्तो सूची निकै लामो बन्छ । शुरूमा सूचना दिन आनाकानी गरेको अस्पतालले सूचनाको हक प्रयोग गर्ने हाम्रो तयारीपछि उपलब्ध गराएका सूचना केलाउँदा यसको साङ्गोपाङ्ग तस्वीर देखाप¥यो । २०२४ सालमा स्वास्थ्य केन्द्र, २०४१ मा जिल्ला अस्पतालहुँदै २०४३ सालमा अञ्चल अस्पतालमा स्तरोन्नति भएको १००  अस्पतालमा १ शैयाको महाकाली अञ्चल अस्पतालले दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक कहिल्यै पाएको रहेनछ । अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठ भन्छन्, “स्थापनाकालदेखि नै दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत आएनन्, अहिले पनि अवस्था उही छ ।”

ग्राफीक्स : इन्द्र श्रेष्ठ

अस्पतालमा २१ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि तीन जना मात्र कार्यरत छन् । हाल कार्यरत स्त्रीरोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ, जनरल सर्जन डा. श्रीकृष्ण श्रेष्ठ र अर्थोपेडिक सर्जन डा. रोजन ताम्राकार तीनै जना नवौं तहका हुन् । निर्देशक÷मेडिकल सुपरीटेन्डेन्टलगायत ११औं तहमा चार जनाको दरबन्दी रहेकोमा एक जना पनि कार्यरत छैनन् । आठौं तहमा सात जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि एक जना पनि छैनन् । मेडिकल टेक्नोलोजिष्ट (एक जना) र वरिष्ठ नर्सिङ अधिकृत (दुई जना) को दरबन्दीमा स्थापनाकालदेखि कोही आएकै छैनन् । महाकाली अञ्चल अस्पतालको यो कथा अभाव, उपेक्षा र पछौटेपनको शिकार बन्दै आएको सुदूरपश्चिम डाक्टरबाट पनि ठगिएको दृष्टान्त हो ।

‘रेफर’ मात्र गर्ने अस्पताल

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, वदालीका दुई वर्षीय भुवन खड्कालाई कडा निमोनियाले सिकिस्त पारेपछि २७ कात्तिक २०७५ मा अस्पताल भर्ना गरियो । तर, अस्पतालले विशेषज्ञ सेवा नभएको भन्दै २९ कात्तिकमा उनलाई सेती अञ्चल अस्पताल, धनगढी रेफर ग¥यो । सामान्य घाउको शल्यक्रिया गर्नुपर्ने भएकाले २३ कात्तिकमा भर्ना भएका राजु नेपालीलाई पनि अस्पतालले २५ कात्तिकमा धनगढी रेफर गरिदियो । त्यसैगरी, झडापखाला र श्वासप्रश्वासमा संक्रमण भएर २५ कात्तिकमै अस्पताल भर्ना भएकी लक्ष्मीदेवी चौधरीलाई पनि ‘यहाँ उपचार हुन नसक्ने’ कारण देखाउँदै धनगढी रेफर गरियो ।

२३ कात्तिकदेखि २ मंसीरसम्मको १० दिनमा मात्र महाकाली अञ्चल अस्पतालले २४ जना बिरामीलाई सेती अञ्चल अस्पताल र नेपालगञ्ज रेफर गरेको छ । गएको साउन, भदौ र असोज महीनामा अस्पताल भर्ना भएका क्रमशः १०४, १२४ र ८१ जना बिरामीको उपचार हुन नसकेपछि रेफर गरिएको अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर नारद भट्टले बताए ।

अञ्चल अस्पतालमा सामान्य शल्यक्रिया पनि हुँदैन भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर, यो महाकाली अञ्चल अस्पतालको विशेषता बनेको छ । यहाँ जनरल सर्जरी, हाडजोर्नी र प्रसूति सेवाका क्रममा हुने शल्यक्रिया पनि हुँदैन । अस्पतालका सूचना अधिकारी केशवदत्त जोशी यसको प्रमुख कारण जनशक्ति अभाव भएको बताउँछन् । २०७०÷७१ सम्म सामान्य शल्यक्रिया हुँदै आए पनि अहिले सामान्य घाउको चिरफार समेत हुन छाडेको जोशीले बताए ।

अस्पतालमा शल्यक्रिया नहुने भएपछि सर्जिकल वार्डहरू खाली र वार्डभित्रका बेड लथालिङ्ग अवस्थामा छन् । “अप्रेशन हुने भए पो वार्ड र बेडहरूको व्यवस्थापन गर्नू” अस्पतालकी इन्डोर इन्चार्ज कौशिला रानाले भनिन्, “शल्यक्रिया गरेका बिरामी नै नभएपछि कसैलाई वास्ता छैन ।”

अस्पतालमा आकस्मिक प्रसूति सेवा मात्र सञ्चालनमा छ । बच्चा जन्माउन नसक्ने ‘क्रिटिकल’ अवस्थाका महिलाको मात्र शल्यक्रिया गरेर बच्चा निकालिन्छ । यसबाहेक शल्यक्रिया गर्नुपर्ने अरू सबै ‘केस’ रेफर गरिन्छ । अस्पतालले लिखित रूपमा धनगढी, नेपालगञ्ज र काठमाडौं रेफर गर्ने भए पनि कर्मचारीले भारतका खटिमा, पिलिभितलगायत ठाउँका विभिन्न अस्पतालमा जान सल्लाह दिने हुँदा बिरामीहरू उतै जान्छन् । भारतमा जाने बिरामीहरू प्रायः लुटिएकै हुन्छन् ।

विशेषज्ञ चिकित्सक नहुँदा बिरामीको विस्तृत स्वास्थ्य परीक्षण पनि हुन छाडेकाले प्रयोगशाला समेत आक्कलझ्ुक्कल मात्र सञ्चालन हुन्छ । ल्याब टेक्निसियन महेशराज जोशी भन्छन्, “ल्याबमा अहिले सामान्य चेकजाँच मात्र हुन्छ ।”

भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्ने रेडियोलोजिष्टको दरबन्दी भए पनि रेडियोलोजिष्ट छैनन् । निमित्त मेडिकल सुपरीटेन्डेन्ट, स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ नै भिडियो एक्सरे पनि गर्छन् । “सधैं गर्न सकिन्न, अरू कोही नभएकाले सोमबार र बिहीबार मात्र अल्ट्रासाउण्ड गर्छु” डा. श्रेष्ठले भने, “गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्नै पर्ने भएकाले सातामा दुई दिन यसका लागि छुट्याउँछु ।”

तीन वर्षअघि स्वास्थ्य मन्त्रालयले महाकाली अञ्चल अस्पताललाई इन्टेन्सिभ केयर युनिट (आईसीयू) सञ्चालन गर्ने उपकरण र सामग्री उपलब्ध गराएको थियो । तर, अहिलेसम्म पनि आईसीयू सञ्चालनमा आएको छैन । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी आईसीयू सञ्चालनका लागि विशेषज्ञहरूको टीम चाहिने, तर पटक–पटक आग्रह गर्दा पनि टीम उपलब्ध हुन नसकेको बताउँछन् । “विशेषज्ञ चिकित्सकहरू आउनै नमान्ने समस्या छ” डा. अवस्थीले भने, “आईसीयू सञ्चालनमा आएको भए ‘रेफर’ गर्नुपर्ने ९० प्रतिशत बिरामीको उपचार यहीं हुन्थ्यो ।”

पहुँच बढ्यो, प्रयास भएन

नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी सुदूरपश्चिमकै थिइन् । २०१६ सालको मन्त्रिपरिषद्मा उनले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । द्वारिकादेवीपछि २०५५ सालमा सुदूरपश्चिमकै भक्तबहादुर बलायर पनि स्वास्थ्य राज्यमन्त्री भए । सुदूरपश्चिमका डा. दीर्घसिंह वम र डा. लक्ष्मीराज पाठक कायममुकायम स्वास्थ्य सचिव बने । पाठक स्वास्थ्य सेवा विभागका महानिर्देशक समेत बनेका थिए ।

स्वास्थ्य सेवा विभागका निर्देशक रहिसकेका डा. बीडी चटौत, डा. महेन्द्रबहादुर विष्ट र डा. भीमसिं तिंकरी पनि सुदूरपश्चिमकै हुन् । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. चेतराज पन्त योजना आयोगका सदस्य भए भने १२औं तहसम्म पुगेका डा. पदमबहादुर चन्दले लामो समय स्वास्थ्य मन्त्रालयमा नीति तथा योजना र वैदेशिक सहायता महाशाखा प्रमुखका रूपमा काम गरे ।

त्रिभुवन विश्वविद्यालयका प्रोफेसर, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. पदमराज पन्त सुदूरपश्चिमकै हुन् । त्रिपुरेश्वर आँखा अस्पतालका निर्देशक रहिसकेका आँखा रोग विशेषज्ञ डा. खडकबहादुर खड्का, हाल कोशी अञ्चल अस्पतालमा कार्यरत रेडियोलोजिस्ट (११औं तह) डा. यज्ञराज पाठक, केही समय गंगालाल हृदय केन्द्रमा काम गरेका र हाल नर्भिक अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. यादव भट्ट तथा एनेस्थेसिस्ट (११औं तह) डा. वीरेन्द्रबहादुर सिंह पनि सुदूरपश्चिममै जन्मे हुर्केर यो पदमा पुगेका हुन् ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी बैतडीका बासिन्दा हुन् । डा. अवस्थी सुदूरपश्चिमका थुप्रै व्यक्ति स्वास्थ्य सेवाको माथिल्लो पदमा पुगे पनि यहाँका स्थानीयले सामान्य स्वास्थ्य सेवा समेत पाउन नसकेको बताउँछन् । “एक त सरकारले पनि यहाँ दक्ष जनशक्ति पठाउन खोज्दैन, पठाइहाल्दा पनि सरुवा भएर आउन चाहने कोही हुन्नन्” डा. अवस्थीले भने, “तलब थोरै हुन्छ, निजी अस्पतालमा काम गर्ने अवसर हुँदैन, त्यही भएर पनि कोही आउन नखोज्ने हुँदा महाकाली अञ्चल अस्पतालको यो अवस्था भएको हो ।”

स्वास्थ्य मन्त्रालयमा कामु सचिव र स्वास्थ्य सेवा विभागको महानिर्देशक रहिसकेका डा. लक्ष्मीराज पाठक भन्छन्, “मन्त्रालयमा हुँदा मैले विशेषज्ञ चिकित्सक पठाउने प्रयास गरें, तर मन्त्री र नेताको पावर लगाएर कोही पनि आउन मान्दा रहेनछन् । आफैं आउन खोज्ने डाक्टर त कोही हुँदा रहेनछन् ।”

दक्षिणएशियामै छाती रोग विशेषज्ञका रूपमा कहलिएका डा. दीर्घसिंह वमले एक वर्ष कामु स्वास्थ्य सचिव भएर मन्त्रालय चलाए । डा. वम भन्छन्, “कसैलाई पठाउन खोजे सीधै मन्त्रीको दबाब आउँथ्यो, कुनै डाक्टरलाई पठाइहाले कागजी रूपमा हाजिर भएर फर्किहाल्ने गर्दा रहेछन् । सुदूरपश्चिममा राम्रा डाक्टर पठाऔं न भनेर पहल गर्ने मन्त्री र नेता नहुनु पनि हाम्रो समस्या हो ।”

डोटीका भक्तबहादुर बलायर २०५५ सालमा १० महीना स्वास्थ्य राज्यमन्त्री भए । बलायरसँग पनि यस्तै तीतो अनुभव छ । उनले भने, “तलब कम हुने र निजी अस्पतालमा काम गर्ने अवसर पनि काठमाडौंमा जस्तो नहुने भएकाले डाक्टरहरू सुदूरपश्चिम आउनै नमान्ने अवस्था रहेछ । मैले पठाउन पनि खोजें, तर माथिसम्म पावर लगाएर कोही आउनै मानेनन् ।”

स्वास्थ्य मन्त्रालयका पूर्व कामुसचिव डा. पाठक कञ्चनपुरमा डाक्टरमाथि भएका आक्रमण र दुव्र्यवहारका घटनाले पनि कतिपयलाई त्रसित बनाएको बताउँछन् । “प्रत्येक वर्ष चिकित्सकमाथि आक्रमण र दुव्र्यवहारका घटना भइरहन्छन्” डा. पाठकले भने, “अर्को कुरा, डाक्टरहरूलाई स्थानीय बासिन्दा र अस्पताल विकास समितिको सहयोग पनि हुँदैन ।”

बिथोलिएको मनोविज्ञान

२०७४ माघमा महाकाली अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठमाथि दुव्र्यवहार भयो । कारण थियो– उपचारका क्रममा एक महिलाको मृत्यु हुनु । पाठेघरको शल्यक्रिया गरेकी ती महिला अस्पतालबाट डिस्चार्ज भएको सात दिनपछि फेरि भर्ना भइन् । पुनः भर्ना भएको केही घण्टामै उनको मृत्यु भयो । “उनको हृदयघातबाट मृत्यु भएको थियो, तर आफन्तले अप्रेशन गरेकै कारण मृत्यु भएको भन्दै दुव्र्यवहार र हातपातको प्रयास गरे” डा. श्रेष्ठ भन्छन्, “त्यसपछि अस्पतालमा बस्न सक्ने वातावरण थिएन, तैपनि जेनतेन अहिलेसम्म यहीं टिकेको छु ।”

त्यसको चार महीना पहिले, २०७४ असोजमा मेडिकल अधिकृत डा. सत्य कोइरालामाथि बिरामीको मृत्यु भएको घटनालाई लिएर हातपात भयो । यो घटनापछि उनी अस्पतालमा बस्न सकेनन्, मंसीरमा राजीनामा दिएर घर गए ।

२०६७ साउनमा शव पोस्टमोर्टमको विषयलाई लिएर स्त्रीरोग विशेषज्ञ डा. खगेन्द्र भट्टमाथि दुव्र्यवहार भयो । उनीविरुद्ध नारा जुलूस गरेर अस्पतालमा बस्न समेत नसक्ने परिस्थिति सिर्जना गरिएपछि सरकारले उनलाई सेती अञ्चल अस्पताल, धनगढी सरुवा ग¥यो । डा. भट्टमाथिको दुव्र्यवहारले अरू धेरै डाक्टरलाई हतोत्साहित बनायो । अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थी त्यसबेलादेखि अस्पतालबारे नकारात्मक सन्देश फैलिन थालेको र डाक्टरहरू यहाँ आउन हच्किएको बताउँछन् ।

डाक्टरहरू अस्पतालमा बसेर निर्धक्क काम गर्न सक्ने वातावरण बनाउन स्थानीय बासिन्दा र राजनीतिक दलका नेता कार्यकर्ताको अहम् भूमिका हुन्छ । तर, महाकाली अञ्चल अस्पतालमा सानो घटना हुँदा पनि जुलूसले अस्पताल घेर्ने काम हुन्छ । दलका नेता कार्यकर्ताले त्यही भीडलाई उचाल्छन् ।

नागरिक समाज कञ्चनपुरका सचिव कमल निरन्जन भाट पनि चिकित्सकहरूमाथि दुव्र्यवहारका घटनाले अस्पतालबारे नराम्रो खबर फैलिएको बताउँछन् । “भारतीय अस्पतालहरूले यहाँका पत्रपत्रिका, रेडियो, केबल टिभी सबै प्रयोग गरेर आफ्नो प्रचार गर्छन्, तिनको प्रचारप्रसारले गर्दा आफ्नै अस्पतालप्रति विश्वास घट्दो छ” उनी भन्छन्, “अर्कोतर्फ डाक्टरहरूमाथि दुव्र्यवहार हुँदा झ्न् डाक्टरले नै यहाँका अस्पतालको विश्वास गर्दैनन् ।”

प्रकाश सिंह, भागेश्वरी शाह: खोज पत्रकारिता केन्द्र


Related posts

Leave a Comment