बलात्कारी छोरा छोरै हुन्छ, पीडित छोरी छ भने कलंक


सुशीला कार्की
हिजोआज प्रशस्त मात्रामा महिला र नाबालिकामाथि दुर्व्यवहार र बलात्कारका वारदात बढ्दो छ। अझ नाबालिकाका हकमा बलात्कार र त्यसपछि निर्मम हत्या हुन थालेका छन्। आठ महिनाका शिशु र ७० वर्षका वृद्धा पनि बलात्कारबाट उन्मुक्त छैनन्। बलात्कार वारदात पहिले पनि हुन्थे। उतिबेला या त प्रकट हुँदैनथे या दबाइन्थे। तर अहिले जताततै सुनिन्छ। विशेषतः नाबालिका जो निरीह र संघर्ष गर्न असफल छन्। यसका कारण के त ?

पितृसत्तात्मक सोच

समाजमा आज पनि पितृसत्तात्मक सोच रहेको देखिन्छ। पिता अर्थात् पुरुष दाइभाइ क्रमशः घरको मूली बन्छन्, तर पत्नी, छोरी, बुहारी जाति दोस्रो दर्जामा पर्न आउँछन्। २००७ सालपूर्व नेपालमा महिलालाई मतदान दिने अधिकार पनि थिएन। २०२० सालपूर्व नेपालको सामाजिक व्यवस्थाको कानुनी भूमिका जंगबहादुर राणा ९२०१०० को मुलुकी ऐनले निर्वाह गरिआएको थियो। जसअनुसार सात वर्षकी नाबालिकाको बिहे जायज थियो। नाबालिकाको बिहे प्रौढ या वृद्धसँग पनि हुन्थ्यो। महिलालाई विवाहअघि केटो रोज्ने हक थिएन।

समाजमा विवाहिते, ल्याइते जस्ता वर्गीकरण गरिएको थियो। त्यसका अतिरिक्त भित्रिनी भन्ने चलन पनि थियो। बहुविवाह गर्नु भनेको अपराध मानिन्थेन। कमारी, घातिनीहरू पनि अवैधानिक पत्नी हुन्थे। नेपालमा पुरानो कानुनको अवशेष अझै पनि ग्रामीण र अन्तरकुन्तरमा छ। अहिले पनि बालविवाह, बहुविवाह हुन्छ। त्यस्ता बिहेको प्र श्रय महिलाले नै दिन्छन्। अहिले पनि परिवारले नै रोजेको केटासँग छोरीको आमरूपमा बिहे हुने चलन छ।

प्रतिष्ठा र दर्जा प्राप्तिका निम्ति छोरीलाई उपहारका रूपमा भेट गर्ने प्रचलनको अवशेष अझै देखिन्छ। पैसाका निम्ति छोरीहरू वैदेशिक रोजगारमा पठाइन्छ। त्यति मात्र होइन, भारतीय मण्डिमा परिवारको आय बढाउन छोरीको बिक्री हुने गरेको छ। यूएनडीपीको अध्ययनअनुसार नेपालमा ६१ प्रतिशत महिला घरभित्र भएका बलात्कार र काम गर्ने क्षेत्रमा भएका बलात्कारलाई प्रकट गर्दैनन्।

त्यस्तै अध्ययनबाट ८६ प्रतिशत पुरुषले हिंसाको सिकार भएका महिलालाई हिंसाबाट जोगाउन साथ नदिएको पुष्टि भएको छ। खुट्टा भए जुत्ता जति पनि पाइन्छ भन्ने हाम्रो समाजको अवधारणा हो। पितृसत्तात्मक सोचले पुरुषमा दम्भ भएका कारण महिला घरभित्र र घरबाहिर कार्यस्थलमा बलात्कारको वारदात वा यौनजन्य दुर्व्यवहारको सिकार हुने गर्छन्।

महिलाद्वारा बलात्कार र यौनजन्य हिंसा प्रकट नहुनु

महिला प्रायः आफन्तद्वारा घरभित्र र कार्यस्थलमा हिंसाको सिकार हुन्छन्। उनीहरू त्यसलाई आफ्नो बेइज्जती ठान्छन् तथापि हिंसाको सिकार उनीहरू हुन्छन् र पनि प्रकट गर्दा इज्जत पनि उनीहरूको जान्छ भन्ने मान्यता रहन्छ। समाजले त्यस्तो दागको दोषी पुरुषलाई नबनाई स्वयं महिलालाई बनाउँछ। कार्यस्थलमा यौनजन्य दुर्व्यवहार प्रबन्धक वा संस्थाका मालिकले गरेको भए कि काम छोड्नुप¥यो कि सहनुप¥यो। अरू केही उपाय रहन्न।

अहिले ‘मी टू’ अभियान सञ्चालनपछि युरोपजस्ता देशहरूमा पनि महिला व्यक्तिगत संस्थामा काम गर्नबाट वञ्चित भएका छन्। यौनजन्य हिंसा वा बलात्कारलाई वस्तुतः जतिजति लुकाएर प्रकट गरिँदैन उतिउति पीडकको मनोबल बढेर जान्छ। यस्ता घटनामा दुःखदायी अवस्था त्यसबेला हुन्छ जब महिलाले महिलालाई साथ नदिई पुरुषले साथ दिन पुगेका हुन्छन्।

डेटिङमा बलात्कृत हुने

आधुनिक युगमा युवायुवतीबीच विवाहपूर्व डेटिङ ९भेटघाट० मा जाने चलन अब युरोप तथा अमेरिकामा मात्र होइन, भारत तथा नेपालजस्ता देशमा पनि सुरु भएको छ। कतिपय बाबुआमाले यसलाई सहज रूपमा हेरेका हुन्छन्। कतिपयले मन पराउँदैनन्। विवाह तय गरी कुराको छिनोफानो भएपछि सहरी क्षेत्रमा यसलाई सहज रूपमा लिन थालिएको छ। तर कतिपय अवस्थामा डेटिङ युवतीका निम्ति दुर्भाग्य बन्न पुग्छ। उदाहरणका रूपमा गत वर्ष दरबारमार्गमा भएको घटना लिन सकिन्छ।

कहिलेकाहीं अधैर्य, मदिरा र नशालु पदार्थ प्रयोगमा यौनजन्य हिंसा बढी हुन्छन्। आफ्नै प्रेमीले प्रेमिकालाई मादक पदार्थ सेवन गराई अन्य तीनतीनजनाले बलात्कारको सिकार बनाएको जगजाहेर छ। डेटिङप्रेमी कुशल छ, योग्य छ र इमानदार छ भने ठीक हुन्छ तर गर्भवती भएपछि एकान्तमा भेट गर्न बोलाई हत्या गराउने जस्ता वारदात पनि अब नेपालमै देखिएका छन्।

विकसित मुलुकमा महिलाविरुद्ध हुने हिंसा, अपहरण र बलात्कारविरुद्ध कारबाही गर्न र अपराध हुनुपूर्व जोगाउन हटलाइनको व्यवस्था छ। त्यहाँ प्रभावकारी उजुरी तथा कारबाही हुने गरेका छन्। नेपालमा फोन नम्बर १०० को व्यवस्था छ। अरू पनि सेवा छन्, तर ती प्रभावकारी छैनन्।

ड्रग र मादक पदार्थको प्रभाव

नेपालमा मादक पदार्थ आमरूपमा प्रयोग हुन्छ। कतिपय जातिका घरमा रक्सी तयार हुन्छ। नेवार, राई, लिम्बू, तामाङ जाति–जनजातिका पूजाआजा र बिहेबारीमा रक्सी नभइनहुने चलन छ। पहिलेपहिले क्षेत्री–बाहुनका घरमा रक्सी प्रतिबन्धित थियो। अहिले मतवालीभन्दा बढी यिनै उच्च जाति भनिएकाहरूले बढी प्रयोग गर्छन्। नेपालमा रक्सी आम छ, खुला छ र औषधीभन्दा बढी रक्सी पसल छन्। सरकारलाई यसैबाट पनि प्रशस्त राजस्व उठ्ने गरेको छ। सरकार बेलाबेलामा यसमा प्रतिबन्ध लगाउने भन्छ, तर सम्भव हुन सकेको छैन। सडक दुर्घटना रोक्न मापसे लगाएको भन्ने छ तथापि मैले कानुन व्यवसायी भई काम गर्दा अथवा न्यायाधीश भई मुद्दा हेर्दा प्रशस्त हत्या, हिंसाका वारदात मादक पदार्थका कारण भएको पाएकी छु।

नेपालमा मादक पदार्थ र लागुऔषधका कारण कति बलात्कार तथा महिला हिंसाका वारदात भएका छन् भन्ने कुराको अध्ययन भएजस्तो लाग्दैन। अमेरिकामा २३८ जना युवतीका बारेमा अध्ययन हुँदा तिनले मादक पदार्थको सेवनपछि बलात्कारजस्तो हिंसाको सिकार गम्भीर रूपमा भएको पाइएको थियो। अध्ययनबाट के पुष्टि भएको छ भने बलात्कार आधाभन्दा बढी वारदात रक्सी सेवन र डेटिङ ड्रगको कारण हुने गरेको छ तथापि अध्ययनअनुसार अमेरिकामा ९९ प्रतिशत बलात्कार पुरुषबाट हुन्छ र ९० प्रतिशत नाबालक पनि यौनजन्य हिंसाको सिकार हुन्छन्। कलेज पुगेका २० देखि २५ प्रतिशत युवती बलात्कारको सिकार हुन्छन्। त्यस्तै ३५ प्रतिशत युवती यौनजन्य उद्योगका सिकार हुन्छन्।

पूर्वीय अवधारणा

पूर्वीय अवधारणामा महिलालाई कोमल र फूलसँग तुलना गरिन्छ। पूर्ण चन्द्रसँग पनि तुलनामा गरिन्छ। अझ मृगनयनी, गजगामिनी, कोमलांगिनी आदि आदि। अझ सटिक भाषामा भन्ने हो भने बारुलाको जस्तो कम्मर, ठूला आँखा, गोरी, पातली, मायालु, नरम, दयाकी खानी, लजालु आदि शब्दले महिलाको रूपको वर्णन गरिन्छ। त्यस्तै ऋष्टपुष्ठ, हट्टाकट्टा, बलियो, छाती ठूलो भएको आदि शब्दले पुरुषको रूपको वर्णन गरिन्छ। यसले महिलाको छविलाई सदैव पुरुषको दासी र कमारीको रूपमा देखाउँछ। यो अवधारणाका कारण पनि महिला हेपिएका छन्। पुरुषमा यही मानसिकताका कारण जे पनि गर्नु हुन्छ भन्ने अवधारणा देखिन्छ। महिलाजति पुरुषको सेवा गर्न आएका वर्ग हुँदा जति अन्याय गरे पनि फरक पर्दैन भन्ने आम मानिसमा अवधारणा रहेको पाइन्छ। यही धारणाले पनि महिला हिंसाको सिकार भएका छन्।

सिनेमा, टेलिभिजन, प्रोनोग्राफी र विज्ञापन

इन्टरनेट र विश्वभरि वितरण हुने वेबसाइटका कारण भारत, नेपाल आदि मुलुकमा प्रशस्त प्रोनोग्राफी, सिनेमाको वितरण हुँदै आएको छ। प्रोनोग्राफी भन्नाले वेश्यावृत्तिसम्बन्धी व्याख्यान भएको लेख हो। यो वास्तविक रूपमा ग्रिक शब्द हो। यसको प्रस्तुति पत्रपत्रिका, सिनेमा, साहित्य हरएक स्थानमा हुन्छ। हिजोआज प्रोन सिनेमा नेटमा छ्यापछ्याप्ती हेर्न मिल्छ। धेरैको भनाइ छ– यसले बलात्कारलाई बढायो हाम्रोजस्तो कट्टर समाजमा। यसका उपभोक्ता धेरै छन्। हुन त प्रोन साहित्य र सामग्रीले यौन हिंसालाई नियन्त्रण गर्दछ भन्ने भनाइ छ। यसले यौनजन्य हिंसा बढाएको धेरैको भनाइ छ। अनुसन्धानबाट के पनि देखिन्छ भने यसले यौनिक अपराधमा नियन्त्रण होइन कि बढाएको छ। महिलावादी नेत्रीहरूका कथनअनुसार प्रोनोग्राफी सिद्धान्त हो भने बलात्कार व्यवहार हो। उनीहरू यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिन्छन्, खुलेआम सञ्चालन गर्न दिनु हुन्न भन्छन्।

अहिले, साबुन, स्याम्पो या कुनै पनि पेय पदार्थको विज्ञापनमा महिलाका नांगा शरीर प्रदर्शन हुन्छ। त्यस्तै टेलिभिजनमा देखाउने सिरियल र फिल्मलाई उन्मादपूर्ण बनाउन बलात्कारका दृश्यलाई मरमसला बनाइन्छ। त्यहाँ महिलालाई कमजोर र पुरुषलाई वलिष्ठ देखाउने जस्ता कुराले पनि बलत्कारीलाई उत्तेजित बनाउने कार्य भएको अभियानकर्ताको दाबी छ। महिलालाई संघर्ष गर्न नसक्ने र क्षमताविहीन बनाउने कार्य रोक्नुपर्ने मान्यता पनि छ।

हाम्रो समाज दोधारमा छ। हामी आधुनिक पनि बन्न सकेका छैनौं र पुरानो संस्कृति पूर्णतः अन्त्य गर्न पनि सकेका छैनौं। पश्चिममा एउटा, दुइटा र तीनोटा विवाह सम्बन्धविच्छेद गरेर गर्नु सामान्य मानिन्छ, तर हामीकहाँ अझै स्वीकार्य छैन। पश्चिमा जगत्मा बलात्कार हुनुलाई महिलाको दोष मानिँदैन तर यहाँ पूर्णतः महिलालाई दोषी देखाइन्छ। हामी अहिले यति खुला हुन पनि सक्दैनौं किनकि हाम्रा परम्परा र मान्यता छन्, तर लाउनेखाने कुरामा भने युरोपियनभन्दा कम छैनौं।

हीनताबोध र सामाजिक दाग

पुरुष बलात्कारी छ भने उसको सामाजिक प्रतिष्ठामा कमी आउँदैन। बलात्कारी पति भए पनि महिलाले छोड्दिनँ र पति प्राणेश्वर नै मानेकी हुन्छे। उसको नजरमा पीडित महिलाले उसको पतिलाई ललाएको, फकाएको भन्ने अवधारणा रहन्छ। तर महिलाको हकमा जो सिकार हुन्छ ऊ समाजमा बस्न सक्दिनँ भागीभागी हिँड्नुपर्ने हुन्छ। उसको वास कुनै संरक्षित स्थानमा रहेको भए त्यहाँ पनि दबाब दिइन्छ। बलात्कारी छोरा आमाको निम्ति छोरै हुन्छ पीडित छोरी छ भने कलंक। यो हाम्रो समाजको संरचना हो। यसले गर्दा महिला असहाय बन्न पुगेका छन्।

परिचितले गर्ने बलात्कारपछि हत्या

बलात्कारपछि हुने हत्याका ९० प्रतिशत वारदातमा परिचित नै हुन्छन्। परिचय खुल्ने डरमा नाबालिका मारिन्छन्। अथवा जीवित भए पनि मार्ने धम्कीका कारण उनीहरू बोल्न र भन्न सक्दैनन्। निर्मला पन्तको घटनामा त्यही शंका छ। त्यो जसले ग¥यो चिनेजानेकाले नै गरेको हो। परिचय खुल्ने कारणले उनको निर्मतापूर्वक हत्या भएको हुन सक्छ।

संस्कृतिका कारण बलात्कार

बेलाबेलामा उपचार गर्न आउने धामीले बलात्कार गरेको सुनिन्छ। हामीकहाँ रोदी घर, देउकी प्रथा, झुमा, वादी प्रथा जस्ता चलन छन्। ती जातिका महिलाले बलात्कारको सिकार हुनुपर्दछ। कतिपय जाति–जनजातिमा अपहरण गरी बिहे गर्ने चलन छ। त्यहाँ पनि इच्छाविरुद्ध बलात्कार हुन्छ नै।

प्रहरी र प्रशासनको नकारात्मक सोच

विकसित मुलुकमा महिलाविरुद्ध हुने हिंसा, अपहरण र बलात्कारविरुद्ध कारबाही गर्न र अपराध हुनुपूर्व जोगाउन हटलाइनको व्यवस्था छ। त्यहाँ प्रभावकारी उजुरी तथा कारबाही हुने गरेका छन्। नेपालमा फोन नम्बर १०० को व्यवस्था छ। अरू पनि सेवा छन्, तर ती प्रभावकारी छैनन्। कैयन् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर तालिम र कार्यक्रम सञ्चालन हुने गरेको देखिए पनि बलात्कार तथा हत्याका विषयमा नेपाल प्रहरीले प्रभावकारी सेवा दिन नसकेको पुष्टि केही वारदातमा दोषी पत्ता लगाउन नसकेकोबाट पुष्टि हुन्छ।

प्रहरी सेवा र प्रशासन यो मामलामा कमजोर भएका कारण पनि वारदातमा वृद्धि हुन पुगेको धेरैको भनाइ छ। आम जनताको गुनासो सेवा गर्ने निकायले लापरबाही गरेपछि महिलाविरुद्ध हुने हिंसा कसरी रोकिन सक्छ भन्ने छ।


Related posts

Leave a Comment