भ्रष्टाचार बढेर जाने प्रबल सम्भावना


कृष्ण पहाडी । निर्वाचनको परिणामले वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको छ । त्यसो त वाम सरकार बन्ने अड्कल निर्वाचन अघि नै थियो । कांग्रेस यतिबेला राष्टिय राजनीतिको धारमा निकै खस्किएको छ । यसका बारेमा धेरै टिकाटिप्पणीहरु पनि भइरहेका छन् । वास्तवमा यतिबेला कांग्रेसले इतिहासकै नराम्रो पराजयको झापड खाएको हो । यस्तो किन भयो भन्ने प्रश्नमा धेरैले धेरै विश्लेषण पनि गरेका छन् । यतिवेला कांग्रेसको नेतृत्वको सरकारले चुनाव गराएको हो र पनि कांग्रेस नराम्ररी पछारिएको छ । वास्तवमा नेपाली कांग्रेसको पराजय हुने निश्चित त थियो नै तर यतिसम्म तल झर्ने अनुमान धेरैले गरेका थिएनन् । दुईओटा दलको मिलापबाट अर्को प्रतिस्पर्धि दललाई नकरात्मक प्रभाव पर्ने कुरा त स्वभाविक हो तर पनि यतिबिधि तल खस्कनुमा कांग्रेसको नेतृत्वशैली र कांग्रेसका व्यवहार तथा सरकारमा रहदा गरेका कार्यशैलीबाटै जनता चिढिएका हुन् भन्ने प्रष्ट हुन्छ ।

पाँच वर्ष सरकारमा बस्न नपाउँदा केही व्यक्ति आकुल हुन्छन् भने पाँच वर्ष सत्तामा बसे भने केही व्यक्ति उत्ताउलिन सक्छन् । लोकतन्त्रको केन्द्रबिन्दु जनता हुन् । पराजित पक्षले कमजोरीको मन्थन गर्दै जनको मन जित्न प्रयासरत रहनुपर्छ र मूल्यको राजनीतिलाई केन्द्रमा राख्नुपर्छ । राष्ट्रिय हितका विषयमा सबैका बीच सहकार्य हुनुपर्छ । सत्तामा बस्नेले सुशासन र पारदर्शिता प्रतिविम्बित गर्नुपर्छ । होइन भने सत्ता बद्नाम हुन सक्छ । त्यसैले गुण र दोषका आधारमा सबैले सरकारको विश्लेषण गर्नुपर्छ । सरकारका गुण देखिए भने विपक्षले रचनात्मक सहयोग गर्नुपर्छ । दोष देखियो भने आलोचना र रोक्ने काम गर्नुपर्छ । संसद् अवरुद्ध, नेपाल बन्द, तोडफोड, हिंसा र ध्वंसलाई सबैले खारेज गर्नुपर्छ । हिंसा अपराध हो भन्ने दृष्टिकोणसहित दोषीमाथि कारबाही गर्नुपर्छ । वाम गठबन्धनको सरकार बनेपछि उसले स्वतन्त्रता र लोकतन्त्रलाई चुनौती दिने कुनै पनि काम गर्नु हुन्न । विपक्षीलाई भन्ने ठाउँ दिनु हुन्न । विपक्षले सत्ता नपाएर धरातल छोड्ने काम गर्नु हुन्न । एउटा सत्ता चिप्लिनेबित्तिकै सिँढी चढ्ने आखिर विपक्षले नै हो । राष्ट्रिय हित र स्वाभिमानमा सहमति हुन सक्यो भने सबैको भविष्य उज्ज्वल छ । ४७ पछिको इतिहास हेर्ने हो भने पाँच वर्षको अवधि कसैले पूरा गर्न सकेका छैनन् ।

अर्को गम्भीर विषय के हो भने नेपालमा भारतविरोधी र चीनपरस्त सरकार धेरै दिन टिक्दैन । त्यस्तै चीनविरोधी र भारतपरस्त सरकार पनि अब नेपालमा टिक्दैन । यी दुई अतिवादबाट अलग रहन सक्यो भने अब बन्ने सरकारको आयु लामो अवधिसम्म जान सक्छ । त्यसो नभए दुर्घटना हुन सक्छ । दोस्रो ः यो निर्वाचनमा भएको अति खर्चकै कारण पनि भ्रष्टाचार बढेर जाने प्रबल सम्भावना छ । त्यसविरुद्ध नागरिक समाजको आन्दोलन उठ्न सक्छ । त्यसैले प्रतीक्षारत प्रधानमन्त्री खड्गप्रसाद ओलीले हिजोका विकृति र विसंंगतिका वाहक मानिएका आफ्नै र माओवादी पार्टिभित्रका केही पात्रलाई सत्ताबाट पन्छाउन सक्नुभएन भने उहाँहरू पतनको बाटोमा जान सक्ने सम्भावना छ । त्यस्तै विपक्षका रूपमा नेपाली कांग्रेसले धर्मको नारा चर्काउने र सेनालाई हावा भर्ने काम गर्नु हुँदैन । दुवै पक्षबाट यस्ता कुरा भएनन् भने स्थिरताको एउटा नयाँ चरण सुरु हुन सक्छ ।


Related posts

Leave a Comment